RE
Global College

रसुवाको  हिमाली विपद्लाई आफूले ‘हिमाली सुनामी’ का रूपमा अनुभव गरेको छु : परराष्ट्रमन्त्री खनाल

काठमाडौं ।  परराष्ट्रमन्त्री शिशिर खनालले रसुवामा भएको हिमाली विपद्लाई आफूले ‘हिमाली सुनामी’ का रूपमा अनुभव गरेको बताएका छन् । उनले हिमाली विपद् अर्थात् आफूले ‘हिमाली सुनामी’ ले विगत २०–२५ वर्षदेखि निर्माण हुँदै आएको समृद्धिको दृष्टिकोणलाई नै धक्का पुर्‍याएको बताएका हुन् ।

बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा जलवायु परिवर्तनसम्बन्धी छलफलका क्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। उनले नेपालको समृद्धिको अवधारणा पछिल्लो समय मुख्यतः हिमाली नदी करिडोरमा आधारित हुँदै गएको बताए। रसुवा भोटेकोशी विपद्ले नेपालले पछिल्ला दशकमा अघि बढाउँदै आएको समृद्धिको विकास अवधारणामाथि नै पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गरेको खनालको भनाई छ ।

नेपालको बस्ती विकास, सडक, उत्तर–दक्षिण करिडोर, जलविद्युत् र अन्तरदेशीय कनेक्टिभिटीको अवधारणा मुख्य नदी करिडोरसँग जोडिएकाले हिमाली क्षेत्रमा बढ्दो विपद्लाई समग्र विकास योजनासँग जोडेर हेर्नुपर्नेमा उनले जोड दिए। उत्तर–दक्षिण जोड्ने प्रमुख सडक तथा पूर्वाधारको परिकल्पना मुख्य नदी प्रणालीसँग जोडिएको छ। दुई छिमेकी मुलुकबीचको कनेक्टिभिटी विस्तारका लागि निर्माण भइरहेका पुल तथा अन्य पूर्वाधारको मुख्य आधारसमेत नदी करिडोर नै रहेको छ। त्यसैगरी पछिल्ला ३०–४० वर्षमा नेपालको बस्ती र बजार विकास पनि प्रमुख नदी आसपास केन्द्रित हुँदै गएको छ।

नेपालले आर्थिक समृद्धिको महत्त्वपूर्ण आधारका रूपमा अघि सारेको जलविद्युत् विकास पनि अन्ततः हिमाली नदी प्रणालीमै निर्भर छ। जलविद्युत् उत्पादन गरी आन्तरिक खपत र निर्यातमार्फत समृद्धि हासिल गर्ने लक्ष्य राखिए पनि त्यसको आधार नदी करिडोर नै रहेको छ।

पछिल्लो विपद्ले यस्तो विकास मोडलको जोखिमबारे गम्भीर भएर सोच्न बाध्य बनाएको खनालले बताए। यो घटनालाई कुनै एउटा संस्था वा निकायको मात्र जिम्मेवारीका रूपमा हेर्न नमिल्ने उनको भनाइ छ। बस्ती, ऊर्जा, सडक, उत्तर–दक्षिण करिडोर र जलविद्युत् सबै एउटै विकास अवधारणासँग जोडिएकाले विपद्लाई समग्रतामा हेर्नुपर्ने उनले उल्लेख गरे।

बदलिँदो जलवायु जोखिमका बीच नेपालले वास्तवमै कसरी समृद्धि हासिल गर्ने भन्ने विषयमा सरकारको समग्र सोच पुनःनिर्धारण गर्नुपर्ने आवश्यकता खनालले औँल्याए। अब नेपालको विधायिकी प्राथमिकता, सरकारी नीति, विकासको सोच र स्रोत परिचालनको आधारबारे नयाँ ढंगले तयारी गर्नुपर्ने अवस्था आएको छ।

बैठकमा बोल्दै खनालले भने, ‘नेपालको समृद्धिको पछिल्लो परिकल्पना ठूलो हदसम्म हिमाली नदी करिडोरसँग जोडिएको छ।’ उत्तर–दक्षिण सडक, कनेक्टिभिटी, बस्ती तथा बजार विकास र जलविद्युत् सबै प्रमुख नदी प्रणालीमा आधारित रहेको उनले बताए।

आफ्नो भनाइलाई अगाडि बढाउँदै उनले भने, ‘पछिल्लो विपद्लाई मैले हिमाली सुनामी भन्ने गरेको छु।’ यसले विगत २०–२५ वर्षदेखि निर्माण गर्दै आएको समृद्धिको सोचलाई पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गरेको उनले स्पष्ट पारे।

विकासका बहुपक्षीय आयामलाई जोड्नुपर्नेमा जोड दिँदै खनालले भने, ‘यसलाई कुनै एउटा संस्थाको जिम्मेवारीका रूपमा होइन, समग्र सरकारको दृष्टिकोणबाट हेर्नुपर्छ।’ बस्ती, ऊर्जा, सडक, उत्तर–दक्षिण करिडोर, कनेक्टिभिटी र लगानीलाई जलवायु तथा विपद् जोखिमसँग जोडेर नयाँ विकास मोडल बनाउन आवश्यक रहेको उनले बताए।

भविष्यको कार्यदिशाका बारेमा बोल्दै उनले भने, ‘अब मुख्य प्रश्न भनेको, यी चुनौतीबीच नेपालले समृद्धि कसरी हासिल गर्ने र त्यसका लागि आवश्यक स्रोत कहाँबाट जुटाउने भन्ने हो।’ यसबारे सरकारको समग्र विकास सोच र विधायिकी प्राथमिकतामै गम्भीर पुनर्विचार आवश्यक रहेको उनले उल्लेख गरे।

Leave Your Comment

Related News