काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिना भदौमा सरकारी राजस्व सङ्कलनमा वृद्धि देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल आम्दानी १ खर्ब ८३ अर्ब २० करोड ६६ लाख रुपैयाँ पुगेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.३० प्रतिशतको वृद्धि हो।
महालेखा नियन्त्रक कार्यालयका अनुसार कर राजस्वतर्फ १ खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख रुपैयाँ सङ्कलन भएको छ, जुन वार्षिक लक्ष्यको १२.२९ प्रतिशत हो। सरकारले चालु आवमा १४ खर्ब ३ अर्ब ३१ करोड ८३ लाख रुपैयाँ कर राजस्व उठाउने लक्ष्य राखेको छ। त्यस्तै, गैरकर राजस्वतर्फ १० अर्ब ७७ करोड ७९ लाख रुपैयाँ सङ्कलन भएको छ।
समीक्षा अवधिमा सरकारले ५ अर्ब ५३ करोड ७ लाख वैदेशिक अनुदान सहायता प्राप्त गरेको छ, जुन वार्षिक लक्ष्य ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँको ८.९६ प्रतिशत हो। चालु आर्थिक वर्षका लागि सरकारले वैदेशिक अनुदानसहित कुल १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ।
बजेट खर्चको अवस्था
चालु आर्थिक वर्षको दोस्रो महिनासम्ममा कुल बजेट खर्च १ खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपैयाँ पुगेको छ। सरकारले यस वर्षका लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो।
शीर्षकगत खर्चतर्फ चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ विनियोजन भएकोमा भदौ मसान्तसम्म ९.६ प्रतिशत अर्थात् १ खर्ब २२ अर्ब ३ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ। त्यस्तै, पुँजीगत (विकास) तर्फ ४ खर्ब ३१ अर्ब १० लाख ६३ हजार रुपैयाँ विनियोजन भएकोमा हालसम्म १.७८ प्रतिशत मात्र खर्च हुन सकेको छ।



