काठमाडौं । आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बिहीबार एनएमबि बैंक र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले भोली अर्थात मंसिर ११ गते बुकक्लोज गर्दैछन् । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
एनएमबि बैंक लिमिटेडले मंसिर २५ गते, शुक्रबार, ३१ औँ वार्षिक साधारण सभा डाकेको छ । सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत (कर प्रयोजनार्थसहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार शेयरका लागि ८.२५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
त्यस्तै, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले मंसिर २३ गते, बुधबार, आईएमई हस्पिटालिटी प्रा.लि.,स्ट्रीट नं. ३, लेकसाइड, पोखरा, कास्कीमा १४ औँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा बिहान ९ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ३.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।



