काठमाडौं । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखाले तिहार पर्वलाई लक्षित गरी सुनका असर्फी तथा चाँदीका मेडालियन (सिक्का) बिक्री खुला गर्ने भएको छ। टक्सार महाशाखा बबरमहलबाट आगामी कात्तिक १९ र २० गते दुई दिन यी असर्फी र मेडालियन बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार सर्वसाधारणले प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी १ थान र १० ग्रामको चाँदीको मेडालियन (लक्ष्मी र गणेश अंकित) बढीमा २ थानसम्म (१/१ थानका दरले) खरिद गर्न पाउनेछन्। बिक्री कार्य तोकिएका दिनहरूमा बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म पङ्क्तिबद्ध (लाइनमा बसेका) सेवाग्राहीहरूलाई मौज्दात कायम रहेसम्म गरिनेछ।
असर्फी तथा मेडालियन खरिद गर्न चाहने सेवाग्राहीले आफ्नो नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा ती कागजातको नम्बर उल्लेख भएको अन्य कुनै आधिकारिक प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ।
खरिदका लागि भुक्तानी नगद वा QR कोडमार्फत गर्न सकिने व्यवस्था मिलाइएको छ। सुन तथा चाँदीको मूल्य दैनिक रूपमा बिहान करिब ११ बजेपछि मात्र निर्धारण हुने भएकाले मूल्य तय भएपश्चात् बिक्री सुरु गरिने टक्सार महाशाखाले जनाएको छ।



