Global College

एनभिडियाका चिपलाई लिएर अमेरिका र चीनबीच द्धन्द्ध : अमेरिकामा प्रतिबन्ध चीन भने खरिद गर्दै

काठमाडौं । अमेरिकाको निर्यात प्रतिबन्ध सूचीमा रहेको चीनको एक विश्वविद्यालयले अमेरिकी प्रविधि कम्पनी एनभिडियाका अत्याधुनिक एच२०० एआई चिप खरिद गरेको पाइएको छ। सैन्य अनुसन्धानमा समेत गहिरो सम्बन्ध रहेको उक्त विश्वविद्यालयले गत महिना दुईवटा एच२०० चिप खरिद गरेको खरिदसम्बन्धी अभिलेखले देखाएको छ। यसले चीनमा अत्याधुनिक प्रविधिको पहुँच रोक्ने अमेरिकी प्रयासमा कमजोरी रहेको उजागर गरेको छ।

नर्थवेस्टर्न पोलिटेक्निकल विश्वविद्यालयले गत अक्टोबर २१ मा सार्वजनिक गरेको खरिद अभिलेखमा दुईवटा एच२०० चिपका लागि ८ लाख ७४ हजार ७०० युआन (करिब १ लाख २३ हजार अमेरिकी डलर) खर्च गरेको उल्लेख छ।

उक्त विश्वविद्यालय चीनको राष्ट्रिय रक्षा क्षेत्रमा काम गर्ने सात विश्वविद्यालयको समूह ‘सेभेन सन्स अफ नेसनल डिफेन्स’ अन्तर्गत पर्छ। यी विश्वविद्यालयमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ। विश्वविद्यालयले बेइजिङका लागि रक्षा अनुसन्धानसम्बन्धी काम गर्दै आएको इतिहाससमेत छ।

विश्वविद्यालयले एनभिडियाबाट सिधै चिप खरिद नगरी सान्सी बोसुआन नेटवर्क टेक्नोलोजी नामक चिनियाँ कम्पनीमार्फत खरिद गरेको अभिलेखमा उल्लेख छ।

एच२०० एनभिडियाका शक्तिशाली एआई चिपमध्ये एक हो। यसले अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीको विकास, प्रशिक्षण र सञ्चालन गर्न सहयोग गर्छ। यस्ता चिप चीनमा निर्यात गर्न अमेरिकी सरकारको अनुमति आवश्यक पर्छ। विशेषगरी प्रतिबन्ध सूचीमा रहेका संस्थालाई निर्यात अनुमति सामान्यतया अस्वीकार गरिन्छ।

नर्थवेस्टर्न पोलिटेक्निकल विश्वविद्यालयले यस वर्ष चिनियाँ कम्पनीहरूसँग कम्प्युटिङ क्षमता भाडामा लिने पाँचवटा सम्झौतामार्फत पनि एच२०० लगायत एनभिडियाका शक्तिशाली एआई प्रोसेसर प्रयोग गरेको  जनाएको छ।

 अमेरिकी प्रतिबन्ध सूचीमा रहेको विश्वविद्यालय

चीनको उत्तरपश्चिमी सहर सियानमा रहेको उक्त विश्वविद्यालयले सैन्य विमान, क्षेप्यास्त्र र भूउपग्रहसम्बन्धी अनुसन्धान गर्दै आएको छ।

अमेरिकी वाणिज्य मन्त्रालयले क्षेप्यास्त्र प्रसारसम्बन्धी गतिविधि र सैन्य अनुसन्धानमा संलग्न रहेको आरोपमा सन् २००१ मा विश्वविद्यालयलाई व्यापार प्रतिबन्ध सूची अर्थात् ‘इन्टिटी लिस्ट’ मा राखेको थियो। सन् २०१९ मा प्रतिबन्ध थप कडा बनाउँदै विश्वविद्यालयलाई अमेरिकी नियन्त्रणमा रहेका प्रविधि निर्यात गर्ने अनुमतिमा अधिकांश अवस्थामा अस्वीकृति नीति लागू गरिएको थियो।

प्रतिबन्धका बाबजुद चिनियाँ संस्थाहरूले स्वदेशी आपूर्तिकर्तामार्फत अमेरिकी एआई कम्प्युटिङ प्रविधि प्राप्त गरिरहेको यस घटनाले देखाएको छ। उनीहरूले चिप सिधै खरिद गर्ने वा त्यस्ता चिप जडित सर्भरको कम्प्युटिङ क्षमता भाडामा लिने गरेका छन्।

रोयटर्सले यस वर्षका २६ वटा चिनियाँ सरकारी खरिद तथा कम्पनीसम्बन्धी अभिलेख समीक्षा गर्दा विश्वविद्यालय र अनुसन्धान संस्थाहरूले प्रतिबन्धित एनभिडिया चिप खरिद गरेको वा त्यस्ता चिप प्रयोग हुने कम्प्युटिङ सेवा भाडामा लिएको पाएको छ। तीमध्ये केही संस्थाको चीनको रक्षा उद्योग तथा सैन्य अनुसन्धानसँग नजिकको सम्बन्ध रहेको छ।

 सैन्य अनुसन्धानमा एनभिडियाका चिप प्रयोग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले जनवरीदेखि केही एच२०० चिप चीन निर्यात गर्न निश्चित सर्तसहित अनुमति दिन थालेको थियो। तर यस नीतिले नर्थवेस्टर्न पोलिटेक्निकलजस्ता इन्टिटी लिस्टमा रहेका संस्थामाथिको छुट्टै प्रतिबन्ध भने हटाएको थिएन।

जनवरीमा जारी गरिएको निर्यात अनुमतिसम्बन्धी नियमले प्रतिबन्धित संस्था र सैन्य प्रयोजनका अन्तिम प्रयोगकर्ताले निर्यात गरिएका चिपमा टाढैबाट पहुँच प्राप्त गर्न नसक्ने सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको छ। यो नियम एच२०० र त्यसअघिका कम क्षमताका चिपमा समेत लागू हुन्छ।

विश्वविद्यालयको व्यवस्थापन संकायले दुईवटा एच२०० चिप खरिद गरेको अभिलेखबाहेक साइबर सुरक्षा संकायले जनवरीमा आठ–आठवटा एच२०० चिप जडित सर्भर प्रयोग गर्न सात महिनाका लागि दुईवटा सम्झौता गरेको देखिएको छ।

ती सम्झौताको मूल्य क्रमशः ४ लाख ४१ हजार ७०० युआन र ४ लाख ४१ हजार युआन थियो। सम्झौताअन्तर्गत एआई मोडललाई थप परिष्कृत गर्ने तथा रिइन्फोर्समेन्ट लर्निङमार्फत प्रशिक्षण दिने काम समेटिएको थियो।

विश्वविद्यालयले एनभिडियाका आठवटा ए१०० र आठवटा ए८०० चिप जडित सर्भरको पहुँचसमेत भाडामा लिएको थियो। ए१०० र ए८०० चिप चीनका कुनै पनि संस्थालाई निर्यात गर्न प्रतिबन्धित छन्। यद्यपि विश्वविद्यालयको खरिद अभिलेखमा उल्लेख गरिएका चिपमध्ये एच२०० सबैभन्दा अत्याधुनिक हो।

यसैबीच, अप्रिलमा अर्को विश्वविद्यालयको एक अनुसन्धान संस्थानले संरचनागत तथा तरल पदार्थको गतिशीलतासम्बन्धी सिमुलेसनका लागि कम्तीमा २४ वटा ए१०० चिप आवश्यक पर्ने कम्प्युटिङ सेवा खरिद गरेको थियो। उक्त सम्झौताको मूल्य ३ लाख ७५ हजार युआन थियो।

यी सम्झौताहरू विभिन्न कम परिचित चिनियाँ प्रविधि आपूर्तिकर्तालाई प्रदान गरिएको थियो। तर अभिलेखमा चिपहरू कहाँबाट ल्याइएका हुन् र भाडामा दिइएका सर्भर कहाँ सञ्चालन भइरहेका छन् भन्नेबारे पर्याप्त विवरण खुलाइएको छैन।

चिनियाँ कानुनअनुसार सरकारी खरिद निकायले ठेक्का प्रदान गर्नुअघि र सम्झौतामा हस्ताक्षर गर्नुअघि आपूर्तिकर्ताले तोकिएको सेवा वा सामग्री उपलब्ध गराउन सक्ने क्षमता छ कि छैन भनेर पुष्टि गर्नुपर्ने व्यवस्था छ।

 एनभिडियाका प्रमुखमाथि पनि दबाब

चीनमा एनभिडियाका चिप बिक्रीसम्बन्धी विषयले अमेरिकी राजनीतिमा समेत विवाद बढाएको छ। एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले चीनमा एआई चिप बिक्रीसम्बन्धी प्रतिबन्ध खुकुलो बनाउन लबिङ गर्दै आएका छन्।

हुआङले चीनमा अमेरिकी चिप बिक्री जारी राख्दा अमेरिकी प्रविधिको नेतृत्व कायम रहने र चिनियाँ ग्राहकहरू अमेरिकी प्रविधिमै निर्भर रहने तर्क गर्दै आएका छन्।

तर अमेरिकी सांसदहरूको एउटा समूहले एनभिडियाका शक्तिशाली एआई चिपमा चीनको पहुँचले हतियार डिजाइन, गुप्तचर विश्लेषण तथा सैन्य आधुनिकीकरणमा चीनलाई तीव्रता दिन सक्ने चिन्ता व्यक्त गरेको छ।

अमेरिकी कंग्रेसका डेमोक्र्याट र रिपब्लिकन दुवै दलका सांसदले चीनको अत्याधुनिक एआई चिपमा पहुँच थप कडा रूपमा नियन्त्रण गर्नुपर्ने माग गरेका छन्। उनीहरूले चिप ट्र्याकिङ प्रणाली र निर्यातसम्बन्धी निर्णयमा कंग्रेसको थप निगरानी आवश्यक रहेको बताएका छन्।

तीन जना रिपब्लिकन कंग्रेसनल समितिका अध्यक्षले चीनको कथित गुप्तचर निकायसँग सम्बन्धित व्यक्तिसँग हुआङको सम्पर्कबारे जानकारी लिन नोभेम्बर १८ मा उनलाई छलफलका लागि बोलाएका छन्।

यस विषयमा एनभिडिया, नर्थवेस्टर्न पोलिटेक्निकल विश्वविद्यालय र अमेरिकी वाणिज्य मन्त्रालयअन्तर्गत निर्यात नियन्त्रणको जिम्मेवारी सम्हाल्ने ब्युरो अफ इन्डस्ट्री एन्ड सेक्युरिटीले रोयटर्सको टिप्पणीका लागि गरिएको अनुरोधको जवाफ दिएका छैनन्।

अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

NECO

Leave Your Comment

Related News