काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिना साउनदेखि असोज मसान्तसम्म को अवधिमा सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले कुल १५ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणद्वारा जारी गरिएको विवरणअनुसार यस अवधिमा कम्पनीहरूले कुल ८ लाख ३६ हजार ७४ वटा बीमा पोलिसी जारी गरी उक्त व्यवसाय गरेको उल्लेख छ।
प्राधिकरणको तथ्यांकअनुसार समीक्षा अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले सबैभन्दा बढी १ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दै शीर्ष स्थान ओगटेको छ। यसैगरी, १ अर्ब ७९ करोड ३६ लाख रुपैयाँसहित शिखर इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ भने १ अर्ब ६० करोड ९९ लाख रुपैयाँ संकलन गरी हिमालयन एभरेष्ट इन्स्योरेन्स तेस्रो स्थानमा आएको छ। चौथो स्थानमा रहेको एनएलजी इन्स्योरेन्सले १ अर्ब ४९ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
यस अवधिमा १ अर्ब रुपैयाँभन्दा बढीको व्यवसाय गर्ने अन्य कम्पनीहरूमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स (१ अर्ब ३३ करोड ४ लाख रुपैयाँ), सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड ८१ लाख रुपैयाँ रहेका छन्। यसरी पहिलो त्रैमासमै ७ वटा निर्जीवन बीमा कम्पनीहरूले १ अर्ब रुपैयाँभन्दा बढी कुल बीमाशुल्क भित्र्याउन सफलता हात पारेका छन्।
त्यस्तै, समीक्षा अवधिमा १ अर्ब रुपैयाँभन्दा कम बीमाशुल्क आर्जन गर्ने अन्य कम्पनीहरूमा दि ओरियण्टल इन्स्योरेन्सले ९८ करोड २४ लाख रुपैयाँ र यूनाइटेड अजोड इन्स्योरेन्सले ९६ करोड २० लाख रुपैयाँ व्यवसाय गरेका छन्। त्यसैगरी, नेपाल इन्स्योरेन्सले ८२ करोड ४१ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले ७१ करोड ८३ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ५३ करोड २८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ५० करोड ७४ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ४७ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।



