CLI
Global College

एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा

काठमाडौं । जापानमा हुने २०औँ एसियाली खेलकुद (एसियाड) को तयारीका लागि नेपाली कराते टोली शुक्रबार जापान प्रस्थान गरेको छ । टोलीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसहित राखेपका पदाधिकारीले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

शिक्षामन्त्री पोखरेलको विशेष पहलमा एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरिरहेका खेलाडीहरूले पहिलोपटक ‘भीआईपी’ पहुँचको सुविधा पाएका छन् ।

‘खेलाडीप्रतिको सम्मानको सानो प्रयासस्वरूप पहिलोपटक विमानस्थलमा ‘भीआईपी’ पहुँचको सुविधा उपलब्ध गराउन पाउँदा खुसी छौँ । सम्पूर्ण खेलाडीलाई हार्दिक शुभकामना,’ मन्त्री पोखरेलले फेसबुकमा लेखेका छन् ।

शिक्षामन्त्री पोखरेलका अनुसार राष्ट्रिय खेलाडीको सम्मान र प्रोत्साहनस्वरूप गरिएको यस पहलले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरिरहेका खेलाडीप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले भीआईपी कक्षको प्रयोगको व्यवस्था गरिएको हो ।

मन्त्री पोखरेलले नेपाली खेलाडीलाई ठूलो अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरिरहेकोमा गर्व व्यक्त गर्दै उनीहरूले आफ्नो सम्पूर्ण क्षमता र समर्पणका साथ प्रतिस्पर्धा गर्ने विश्वास व्यक्त गरे ।

खेलाडीले पाएको ‘भीआईपी’ पहुँचलाई देशका लागि मेहनत गर्ने खेलाडीप्रतिको सम्मानको एउटा सानो प्रयासका रूपमा लिइएको उल्लेख गर्दै मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको मनोबल बढाउन यस्ता पहल महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

एसियाडमा नेपालबाट सहभागी हुने २२ खेलमध्ये जापान पुग्ने कराते पहिलो टोली हो । टोलीले टोकियोस्थित विश्व सितोरियो करातेको मुख्य डोजोमा सेप्टेम्बर ६ देखि १६ तारिखसम्म प्रशिक्षण गर्नेछ ।

प्रशिक्षणपछि टोली सेप्टेम्बर १७ तारिख टोकियोबाट एसियाड आयोजना हुने नागोया प्रस्थान गर्नेछ । कराते प्रतियोगिता सेप्टेम्बर २० देखि २३ तारिखसम्म सञ्चालन हुनेछ ।

नेपालबाट पुरुषतर्फ ५५ केजीमुनि राकेश मानन्धर, ६० केजीमुनि मिनबहादुर तामाङ र ८४ केजीमाथि तेन्जिङ शेर्पाले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ ६८ केजीमाथि एरिका गुरुङ, ६८ केजीमुनि निरुपा दोङ तामाङ र एकल कातामा सानुमाया थिङले प्रतिस्पर्धा गर्नेछिन् ।

Leave Your Comment

Related News