काठमाडौं । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया उद्योगभित्र रहेको फर्नेस आयलको ट्यांकीमा विद्युत् सर्ट सर्किट भई आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। फलाम इन्जिनमा प्रयोग हुने २ लाख लिटर क्षमताको उक्त ट्यांकीमा बिहीबार रातको करिब १:३० बजे एक्कासि सर्ट सर्किट भएर आगलागी भएको हो।
आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। नेपाल प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको संयुक्त प्रयासमा करिब १ घण्टापछि रातको २स्३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ। घटनामा कुनै मानवीय क्षति नभएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




