काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ ।
सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरबाट उनकी श्रीमती चण्डिका श्रेष्ठको उद्धार गरिएको हो ।
उद्धार गरिएकी चण्डिकालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउन लागिएको प्रवक्ता कार्कीले जानकारी दिए ।
यसअघि नेपाली सेनाले अपर त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक जना चिनियाँ नागरिकको समेत उद्धार गरेको थियो । त्यस्तै, शुक्रबार त्रिशूली–३ ए को सुरुङबाट दुई जनाको उद्धार गरिएको थियो ।
सुरुङमा मानिस फसेको विवरण आइरहेका बेला बाढीले क्षति पुर्याएका घरका संरचनाभित्र पनि मानिस फसेको हुनसक्ने तथ्य चण्डिका श्रेष्ठको जीवित उद्धारपछि खुलेको हो ।
भोटेकोशी बाढीका कारण रसुवागढीदेखि धादिङको गलौंदी क्षेत्रसम्मका घर तथा बस्तीमा ठूलो क्षति पुगेको छ । कतिपय घर बाढीले पुरिएका छन् भने कतिपय संरचना बगाएका वा पल्टिएका छन् ।
बाढीले पुरिएका तथा क्षतिग्रस्त घरका संरचनाभित्र मानिस च्यापिएको हुनसक्ने आशंकामा खोज तथा उद्धार कार्यलाई थप व्यापक बनाउनुपर्ने देखिएको छ । चण्डिका श्रेष्ठको जीवित उद्धारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त घर तथा संरचनाभित्र पनि खोजी गर्नुपर्ने आवश्यकता थप स्पष्ट भएको छ ।



