CLI
Global College

अनाका क्राकाताउ ज्वालामुखी विस्फोटका कारण इन्डोनेसियाको मुख्य विमानस्थलमा उडानहरु स्थगन

काठमाडौं । इन्डोनेसियाको राजधानी जकार्तानजिकै रहेको सुकार्नो-हत्ता अन्तर्राष्ट्रिय विमानस्थलमा अनाका क्राकाताउ  ज्वालामुखीबाट निस्किएको खरानी देखिएपछि उडानहरू स्थगन गरिएका छन्।

 अल जजिरा, एएफपी र रोयटर्सको समाचार अनुसार, जकार्ताभन्दा १५० किलोमिटरभन्दा बढी दूरीमा रहेको उक्त ज्वालामुखीमा ‘बढ्दो विस्फोटन गतिविधि’ देखिएपछि आइतबार बिहानदेखि स्थानीय समयअनुसार दिउँसो १:३० बजेसम्मका लागि उडान सेवा रोकिएको विमानस्थल प्रशासनले जनाएको छ।

मौसम विज्ञान एजेन्सीका अनुसार शुक्रबार अबेरबाट पड्किन थालेको अनाका क्राकाताउ ज्वालामुखीबाट लाभाको फोहोरा छुट्नुका साथै ७०० किलोमिटरसम्म ठूलो गर्जन सुनिएको थियो। ज्वालामुखी विज्ञान एजेन्सीले आइतबार दुई वटा नयाँ विस्फोटहरू दर्ता गरिएको चेतावनी दिएको छ।

बीएमकेजीले आफ्नो वेबसाइटमा जनाएअनुसार, ज्वालामुखीको जाभा क्षेत्रतर्फ ६,००० मिटरसम्म र सुमात्रा क्षेत्र तथा जाभाको बान्तेन प्रान्तका केही भागमा १५,००० मिटरसम्म खरानीको बाक्लो बादल फैलिएको छ।

यसअघि शनिबार बिहान ५:३० बजेसम्मका लागि गरिएको उडान स्थगनका कारण १६ वटा अन्तर्राष्ट्रिय रद्द र ७ वटा ढिलाइसहित ३३ वटा उडान प्रभावित भएको इन्डोनेसियाको नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

नागरिक उड्डयन महानिर्देशक लुक्मान एफ लाइसाका अनुसार विमानस्थल क्षेत्रमा ज्वालामुखीको खरानी रहेको पुष्टि भएपछि उडान स्थगनको समय थप गरिएको हो। “हाम्रो हरेक उडान सञ्चालन निर्णयमा उडान सुरक्षा नै मुख्य प्राथमिकता रहन्छ,” लुक्मानले भने। सिंगापुर एयरलाइन्स लगायतका प्रमुख वायुसेवा कम्पनीहरूका उडानसमेत यस विस्फोटका कारण प्रभावित भएका छन्।

एजेन्सी

Leave Your Comment

Related News