काठमाडौं । रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या १,३४२ पुगेको छ भने ४,९९६ जना अझै बेपत्ता छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ २१ गते बेलुका ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाबाट १,३४२ जनाको शव फेला परेको र १३,३९१ जनाको जीवितै उद्धार गरिएको जनाएको छ।
प्राधिकरणका अनुसार बाढीका कारण चितवनमा ३६२, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२०, नुवाकोटमा १९५, रसुवामा १६३, गोर्खामा ७४, धादिङमा ६७ र तनहुँमा ३८ जनाको मृत्यु भएको छ।
बाढीपछि करिब ४,९९६ जना अझै सम्पर्कविहीन रहेका छन्। रसुवा जिल्ला प्रशासनबाट प्राप्त विवरणअनुसार करिब १,९६७ जना र नुवाकोटबाट प्राप्त विवरणअनुसार २,३४० जना नेपाली नागरिक अझै सम्पर्कमा आएका छैनन्। त्यस्तै करिब ५८९ जना विदेशी नागरिक तथा करिब १०० जना सुरक्षाकर्मी र कर्मचारीहरू पनि बेपत्ताको सूचीमा छन्।
विपद्बाट हालसम्म १३,३९१ जनाको जीवितै उद्धार गरिएको छ। उद्धारका लागि नेपाली सेनाले ४,१६२ जनाको उद्धार गरेको छ भने सेनाले १७३ पटक र निजी क्षेत्रले १२९ पटक हवाई उडान गरेका छन्। यस क्रममा ३०४ जना विदेशी नागरिकको पनि उद्धार गरिएको छ।
बाढीका कारण घाइते भएका ६,०८३ जनाको उपचार गरिएको छ। विभिन्न अस्पतालमा ३२६ जना, नेपाली सेनाको स्वास्थ्य शिविरबाट ३,२९८ जना र सशस्त्र प्रहरीबाट २,४६२ जना घाइतेको उपचार भएको छ।
प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि २१,४६५ जना सुरक्षाकर्मी खटिएका छन्, जसमा नेपाल प्रहरीका ७,९७५, नेपाली सेनाका ९,२८७ र सशस्त्र प्रहरीका ४,२०३ जना रहेका छन्। विस्थापितहरूका लागि रसुवा, नुवाकोट, धादिङ र काठमाडौँका ३९ वटा होल्डिङ सेन्टरमा ३,६५२ जनालाई राखिएको छ।



