CLI
Global College

८२ सहकर्मी बेपत्ताको शोक बिर्सेर उद्धारमा खटिएका सुरक्षाकर्मीप्रति बालेनद्वारा आभार व्यक्त

काठमाडौं । विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूप्रति बालेन शाहले आभार व्यक्त गरेका छन्। नुवाकोटको विदुर-६ स्थित केन्द्रीय कारागारमा पसेको बाढीका बीच सुरक्षार्थ खटिएका ५२ जना सुरक्षाकर्मीले ९२३ जना कैदीबन्दीलाई सुरक्षित माथिल्लो भवनमा सारेको र भाग्न खोजेका ५० जनालाई पुनः नियन्त्रणमा लिएर देखाएको साहसको चर्चा गर्दै बालेनले यो सुरक्षा निकायको अद्भुत उदाहरण भएको बताएका छन्।

बाढीका कारण आफ्ना ८२ जना सहकर्मीहरू (४५ सैनिक, २५ प्रहरी र १२ सशस्त्र प्रहरी) बेपत्ता भएको गहिरो शोकका बाबजुद आँसु लुकाएर दलदल र भग्नावशेषमा खोजी तथा उद्धारमा खटिएका सुरक्षाकर्मीको योगदानप्रति उनले धन्यवाद दिएका छन्। हालसम्म २१ हजारभन्दा बढी सुरक्षाकर्मीको एकीकृत परिचालनबाट १३ हजार ३९१ जनाको जीवितै उद्धार भइसकेको छ।

कठिन भूगोल र प्रतिकूल मौसमका बीच तीनै सुरक्षा निकायका कमान्डर तथा जवानहरूले उच्च मनोबलका साथ काम गरिरहेकोमा प्रशंसा गर्दै बालेनले कार्यक्षेत्रमा खटिएका प्रत्येक सुरक्षाकर्मीको सेवा, सुरक्षा र सुविधामा कुनै सम्झौता नहुने प्रतिबद्धता जनाएका छन्। साथै, विपद्को यस समयमा खटिन प्रेरित गर्ने सुरक्षाकर्मीका परिवार र उद्धारमा सघाउने स्वदेशी तथा विदेशी विज्ञहरूप्रति पनि उनले कृतज्ञता व्यक्त गरेका छन्।

Leave Your Comment

Related News