काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा कम हुने दाबी गरेका छन् ।
ट्रम्पले मध्यपूर्वमा जारी सैन्य कारबाहीका कारण ऊर्जा लागत बढेको उल्लेख गर्दै युद्धपछि बजार स्थिर हुने बताएका हुन् । उनले इरानलाई आणविक हतियार राख्न नदिने चेतावनीसमेत दिएका छन् ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले तीन इरानी कच्चा तेल ट्याङ्कर आइआरजिसी र उसका क्षेत्रीय सहयोगीलाई आर्थिक सहयोग गर्ने अर्बौं डलरको ‘छाया सञ्जाल’ को हिस्सा रहेको दाबी गरेको छ । सेन्टकमका कमान्डर एडमिरल ब्राड कुपरले आवश्यक परे इरानको तेल ट्याङ्कर बेडामाथि कारबाही गर्न अमेरिका पछि नहट्ने बताएका छन् ।
अमेरिकाले युद्धलाई विजय र ऊर्जा मूल्य घट्ने दाबीसँग जोडिरहँदा इरानले ऊर्जा पूर्वाधारमाथि आक्रमण भए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । बढ्दो तनावले विश्व ऊर्जा बजारमा समेत असर पर्नसक्ने चिन्ता बढेको छ ।



