RE
Global College

फ्रान्समा पुनः व्यापक प्रदर्शन, झडपपछि करिब एक हजार पक्राउ

काठमाडौं । फ्रान्समा लगातार दोस्रो दिन भएको व्यापक प्रदर्शनका क्रममा करिब एक हजार जना पक्राउ परेका छन्। शनिबार देशभर लाखौँ मानिसले प्रदर्शनमा सहभागिता जनाएका थिए। प्रदर्शनपछि राति केही स्थानमा झडपसमेत भएको अधिकारीहरूले बताएका छन्।

दिनभरजसो प्रदर्शन शान्तिपूर्ण रहे पनि पेरिससहित विभिन्न सहरमा प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो। मार्से सहरमा अवरोधका लागि बनाइएका संरचनामा आगजनी गरिएको थियो भने बोर्डोमा प्रदर्शनकारीले एउटा पसलका काठका पाता उखेलेका थिए।

यद्यपि, गत सप्ताहान्तमा देखिएको व्यापक दङ्गा र लुटपाटको अवस्था दोहोरिन नदिन अधिकारीहरू सफल भएका छन्। गत सप्ताहान्तको घटनालाई फ्रान्सको आधुनिक इतिहासकै सबैभन्दा गम्भीर अव्यवस्थाका घटनामध्ये एक मानिएको थियो।

फ्रान्सको गृह मन्त्रालयका अनुसार शनिबारको प्रदर्शनमा करिब चार लाख १० हजार मानिस सहभागी भएका थिए। तर, ट्रेड युनियनहरूले भने प्रदर्शनकारीको सङ्ख्या करिब आठ लाख रहेको दाबी गरेका छन्।

प्रदर्शनका क्रममा सम्भावित हिंसा नियन्त्रण गर्न करिब ७० हजार प्रहरी परिचालन गरिएको थियो। जीवनयापनको बढ्दो लागत र विद्यालयको खराब अवस्थाविरुद्ध भइरहेका प्रदर्शन हिंसात्मक नबनून् भन्ने उद्देश्यले विभिन्न सहरमा प्रतिबन्धात्मक व्यवस्था पनि लागू गरिएको थियो।

यसअघि गत सप्ताहान्तमा प्रहरीको सङ्ख्या प्रदर्शनकारीको तुलनामा कम हुँदा सयौँ व्यवसायमा लुटपाट भएको र विभिन्न भवनमा आगजनी गरिएको थियो।

राष्ट्रपति इमानुएल म्याक्रोंले यसै साताको सुरुमा मान्यताप्राप्त ट्रेड युनियनले आयोजना गरेका प्रदर्शनलाई मात्र अनुमति दिइने घोषणा गरेका थिए।

यसैबीच, पछिल्ला दिनमा भएका तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्न सयौँ व्यक्तिलाई शीघ्र सुनुवाइ प्रक्रियामार्फत जेल सजाय सुनाइएको छ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

NECO

Leave Your Comment

Related News