CLI
Global College

जेनजी आन्दोलनको मर्मअनुसार भ्रष्टाचारमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्नुपर्ने छ : प्रवक्ता ज्वाला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का प्रवक्ता प्रकाश ज्वालाले जेनजी आन्दोलनको जगमा बनेको सरकारले आन्दोलनका माग र भावनालाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने बताएका छन्।

भदौ २३ गतेको ऐतिहासिक सन्दर्भ स्मरण गर्दै मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका ज्वालाले आन्दोलनका शहीदहरूको बलिदानको सम्मान गर्न, शहीद परिवारलाई न्यायोचित क्षतिपूर्ति दिन तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।

भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध तथा सुशासन, न्याय र अभिव्यक्ति स्वतन्त्रताका लागि नवयुवा पुस्ताले गरेको संघर्षको स्मरण गर्दै उनले जेनजी आन्दोलनका सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

ज्वालाले भनेका छन्, ‘जेनजी आन्दोलनका शहीदहरूको भावनाको सम्मान गर्दै शहीदका परिवारलाई सम्मान र न्यायोचित क्षतिपूर्तिको व्यवस्था गरियोस्। भदौ २३ मा नवयुवाहरूको नरसंहार गर्ने हत्यारा र भदौ २४ मा राष्ट्रिय धरोहर खरानी बनाउने, देश जलाउने विध्वंसकारीहरूलाई कडा कारबाही गरियोस्।’

उनले आन्दोलनका क्रममा घाइते भएकाहरूको पीडा सरकारले गम्भीरतापूर्वक सुन्नुपर्ने र उनीहरूको उपचारका लागि आवश्यक व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन्।

यसैगरी, ज्वालाले जेनजी आन्दोलनको मर्मअनुसार भ्रष्टाचारमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाका दोषीलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्नुपर्ने उनको माग छ।

ज्वालाले वर्तमान समयमा नवयुवा तथा युवा पुस्ताको भावना र आकांक्षाअनुसार राज्य सञ्चालन अघि बढाउनुपर्ने बताएका छन्। राजनीतिलगायत राज्यका विभिन्न क्षेत्रमा युवाहरूको अर्थपूर्ण सहभागिता र नेतृत्व स्थापित गर्नुपर्ने उनको भनाइ छ।

उनले जेनजी आन्दोलनले उठाएका सुशासन, पारदर्शिता, न्याय र अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी मुद्दालाई व्यवहारमा कार्यान्वयन गर्दै अघि बढ्न सबै पक्षलाई संकल्प गर्नसमेत आह्वान गरेका छन्।

Leave Your Comment

Related News