काठमाडौं । कास्कीको किमरुङ खोलामा पहिरो खसेर नदीको बहाव थुनिएपछि तटीय क्षेत्रमा बाढीको जोखिम उच्च बनेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले सूचना जारी गर्दै नदी थुनिएकाले आसपासका बस्तीका स्थानीय बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा जान र उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
प्रहरीका अनुसार पहिरोले खोला थुनिएपछि फुटेर आउन सक्ने बाढीको सम्भावित खतरालाई मध्यनजर गर्दै नयाँपुल, बिरेठाँटी तथा आसपासका जोखिमयुक्त बस्तीका बासिन्दाहरूलाई सुरक्षित ठाउँमा सर्न भनिएको छ।
साथै, किम्रुङ खोला मिसिने मोदी खोलामा पनि जलसतह एकाएक बढ्न सक्ने भएकाले मोदी खोला किनारका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयहरूलाई उच्च सजगता अपनाउन र नदी किनारमा नजान प्रहरीले आग्रह गरेको छ। स्थानीय प्रशासन तथा सुरक्षा निकायले सो क्षेत्रको स्थितिमाथि निरन्तर निगरानी राखिरहेको जनाइएको छ।



