RE
Global College

डोलेश्वर भिलेज रिसोर्टको ११औँ साधारणसभा सम्पन्न, ३० प्रतिशत आईपीओ निष्कासनको तयारी

काठमाडौं ।  डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडको ११औँ वार्षिक साधारणसभा सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित रिसोर्टको सभाहलमा सम्पन्न भएको छ।

साधारणसभाले कम्पनीको जारी पुँजीको ३० प्रतिशत अर्थात् १६ लाख २० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव अघि बढाएको छ। आईपीओ निष्कासनको अनुमति माग्दै कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदनसमेत दिइसकेको जनाएको छ।

सभामा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले डोलेश्वर क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई व्यवस्थित रूपमा विकास गर्न रिसोर्टको भूमिका महत्वपूर्ण रहेको बताए।

साधारणसभाले रामनाथ मैनाली, बुद्धिप्रसाद पोखरेल, डोरबहादुर भण्डारी, सृष्टि पोखरेल, छविलाल लुइँटेल र ध्रुवराज पोख्रेललाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ। निर्वाचित सञ्चालक समितिको पहिलो बैठकले रामनाथ मैनालीलाई अध्यक्ष र टिकाध्वज भण्डारीलाई स्वतन्त्र सञ्चालकमा चयन गरेको छ।

२०७२ सालदेखि सञ्चालनमा आएको रिसोर्टले आईपीओबाट प्राप्त पुँजीलाई रिसोर्ट विस्तार, पूर्वाधार विकास तथा चारतारे स्तरमा स्तरोन्नति गर्न प्रयोग गर्ने योजना बनाएको छ। थप आवासीय कोठा, स्विमिङ पुल, स्पा, ज्याकुजी, सेमिनार हल तथा मनोरञ्जन क्षेत्र विस्तार गर्ने कम्पनीको लक्ष्य छ।

त्यस्तै, पर्यटनसँगै कृषि, ऊर्जा, उद्योग, पूर्वाधार, स्वास्थ्य, शिक्षा तथा अन्य उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्दै शेयरधनीलाई प्रतिफल दिने लक्ष्य रहेको कम्पनीले जनाएको छ।

NECO

Leave Your Comment

Related News