पुल निर्माणको माग गर्दै जनप्रतिनिधि सहित १० युवा आमरण अनशनमा

काठमाडौं ।  धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै स्थानीयहरुले सामुहिक आमरण अनशन शुरु गरेका छन् ।

कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको अगुवाईमा आन्दोलित स्थानीयहरु जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडी आमरण अनशन बसेका हुन् । गत साता मात्रै मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहलाई नयाँ पुल निर्माणका लागि प्रक्रिया अगाडी बढाउने गरी ७ दिने अल्टिमेटमसहित उनीहरुले ज्ञापन पत्र बुझाएका थिए ।

तर मुख्यमन्त्रीले आफूहरुको मागप्रति बेवास्ता गरेपछि आमरण अनसनमा बसेको संघर्ष समितिका संयोजक प्रविण यादवले जानकारी दिए । १० जना युवा आमरण अनसनमा बसेका हुन् । सिरहाको औरही वडा नम्बर ४ का वडाध्यक्ष सुरेन्द्रकुमार यादव, सिरहा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष समशाद आलम, सिरहा ६ का वडाध्यक्ष इन्द्रजति यादव, सिरहा ८ का वडा सदस्य रुपेश यादव, सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह, शैलेशकुमार गोइत, मनिष यादव र शिवशंकर यादव आमरण अनशनमा बसेका छन् ।
उनले भने ‘मुख्यमन्त्रीलाई गत साता नयाँ पुल निर्माणका लागि संघ सरकारसँग पहल गर्न भनेका थियौँ, तर त्यहाँबाट एक फोन कलसम्म नआएको र प्रदेश सरकारले कुनै गम्भिरता देखाएको छैन ।’
यता मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारले कमला पुल निर्माणका लागि प्रदेश सरकार आफँै गम्भिर रहेको समयमा युवाहरु आमरण अनशनमा बस्नुको औचित्य नरहेको प्रतिक्रिया दिएका छन् । प्रदेश सरकार आफैँ कमला पुल निर्माणका लागि पहल द्रुत गतिमा गइरहँदा समेत सिधै आएर आमरण अनशनमा बस्नु स्टन्ट भएको आरोप लगाए ।
उनले मधेस सरकारको गत साउन ३१ गते बसेको मन्त्रीपरिषद बैठकबाट हुलाकी राजमार्ग अन्तर्गत पर्ने नयाँ कमला पुल निर्माणका लागि माग गर्ने निर्णय गरको जानकारि दिए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार