RE
Global College

केन्द्रीय विद्युत् प्रसारणले फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी

काठमाडौं । टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार भएपछि स्थानीयको दैनिकी सहज बनेको छ। लामो समयदेखि विद्युत् सेवा उपभोग गर्ने सपना बोकेर बसेका स्थानीयको घरघरमा बिजुली पुगेपछि उत्साहित भएका छन् । विद्युत् विस्तारसँगै स्थानीय सूचना, सञ्चार तथा प्रविधिको पहुँचमा जोडिनुका साथै दैनिक जीवनयापनमासमेत परिवर्तन आएको छ ।

भौगोलिक रूपमा ठूलो क्षेत्रफलमा फैलिएको वडाका विभिन्न बस्तीमा विद्युत् विस्तार भएपछि स्थानीयले इन्टरनेट, टेलिभिजनलगायतका सुविधाको उपभोग गर्न पाएका छन् । यसअघि विद्युत् अभावका कारण ओझेलमा परेका बस्तीका नागरिक अहिले सूचना तथा सञ्चारको पहुँचमा जोडिन थालेका छन् । विद्युत् पुगेपछि बालबालिकाको अध्ययनदेखि घरायसी कामकाज र स्थानीयस्तरमा सञ्चालन हुने साना उद्योगसम्म सहज भएको स्थानीयवासी बलबहादुर राईले बताए। विगतमा विद्युत् अभावका कारण बालबालिकाको पढाइदेखि स्थानीय उत्पादनको कुटानीपिसानीसम्ममा समस्या हुने गरेको थियो । विद्युत् विस्तारलाई प्राथमिकतामा राखेर काम गरेपछि थोरै बजेटबाट पनि नतिजामुखी काम गर्न सफल भएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए। भौगोलिक रूपमा ठुलो क्षेत्र भएकाले सबै बस्तीमा विद्युत् पुर्‍याउन विभिन्न चुनौती सामना गर्नुपरे पनि प्राथमिकताका आधारमा काम अघि बढाउँदा लक्ष्य हासिल गर्न सफल भएको उनको भनाइ छ।

विद्युत् विस्तारसँगै स्थानीयले विद्युतीय मिलको सहायताले कुटानीपिसानी गर्न थालेका छन्। यसबाट परम्परागत रूपमा गर्नुपर्ने श्रम र समयको बचत भएको छ। त्यस्तै, फर्निचरलगायत घरेलु उद्योग सञ्चालन गर्न सहज भएपछि स्थानीय उत्पादन तथा आयआर्जनका गतिविधिमा टेवा पुगेको वडाले जनाएको छ। विद्युत् सेवा विस्तारले ग्रामीण क्षेत्रका नागरिकको जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै शिक्षा, सञ्चार र स्थानीय उद्यम विकासका लागि नयाँ सम्भावनासमेत सिर्जना गरेको छ।

NECO

Leave Your Comment

Related News