काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच (फाइबर टु द होम) अन्तर्गत एनटी फाइबर प्रयोगकर्ता ग्राहकका लागि वाइफाइ ६ (WiFi 6) प्रविधिसहितका नयाँ इन्टरनेट तथा टेलिफोन प्याकेज उपलब्ध गराउने भएको छ ।
कम्पनीले व्यक्तिगत ग्राहकलाई लक्षित गर्दै वार्षिक इन्टरनेट तथा टेलिफोन प्याकेज र नयाँ ३० एमबीपीएसको प्याकेज सार्वजनिक गरेको हो । यी प्याकेज आगामी २०८३ असोज ३० गतेदेखि लागू हुनेछन् ।
नेपाल टेलिकमका अनुसार ‘वाइफाइ ६ इन्डिभिजुअल प्याकेज’ अन्तर्गत वार्षिक इन्टरनेट तथा टेलिफोन सेवा जडान गर्दा १०० एमबीपीएसको प्याकेज ११ हजार ४९९ रुपैयाँमा उपलब्ध हुनेछ । त्यस्तै, १५० एमबीपीएसको प्याकेजका लागि १२ हजार ९९९ रुपैयाँ र २०० एमबीपीएसको प्याकेजका लागि १६ हजार ४९९ रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
यी वार्षिक प्याकेजमा ग्राहकले ८०० देखि १ हजार एमबीसम्मको मोबाइल डाटा सुविधा पनि प्राप्त गर्नेछन् । यसैगरी, टेलिकमले नयाँ प्याकेजका रूपमा ३० एमबीपीएस गतिको इन्टरनेट सेवा वार्षिक ४ हजार ९९९ रुपैयाँमा उपलब्ध गराउने भएको छ ।
कम्पनीका अनुसार उल्लेखित सबै प्याकेजको सेवा अवधि १२ महिना अर्थात् एक वर्षको हुनेछ । प्याकेज जडान गर्दा लाग्ने ५०० रुपैयाँ जडान शुल्कसमेत नलाग्ने व्यवस्था गरिएको छ ।
नयाँ प्याकेजमार्फत ग्राहकलाई उच्च गतिको इन्टरनेट, टेलिफोन तथा अतिरिक्त मोबाइल डाटा सुविधा उपलब्ध गराउने टेलिकमको योजना छ ।




