काठमाडौं । नेपालका सरकारी वेबसाइट अस्थायीरुपमा बन्द भएका छन् । आज सरकारी वेबसाइट खुल्न सकेका छैनन् । नेपालका डट जीओभी डट एनपी वेबसाइट नखुलेका हुन् । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, विभिन्न मन्त्रालय, मौसमका निकायसहित पालिकाका वेबसाइटहरु खुलेका छैनन् ।
इन्टरनेटका अधिकांश वेबसाइट सञ्चालनमा प्रयोग हुने प्रोग्रामिङ भाषा (पीएचपी) मा दुई गम्भीर साइबर सुरक्षा कमजोरी फेला परेपछि सरकारी वेबसाइट प्रभावित भएका हुन् ।
साइबर सुरक्षा निकायले सम्बन्धित संस्थालाई पीएचपीको सुरक्षा अपडेट तत्काल लागू गर्न र त्यसो गर्न नसक्ने अवस्थामा वेबसाइटहरु अस्थायी रूपमा बन्द राख्न आग्रह गरेका छन् ।
यसअघि कमजोरी समाधान गर्न सुरक्षा अपडेट जारी गरिएको थियो । तर, समयमै अपडेट गर्न नसकेका संस्थालाई आफ्नो वेबसाइट अस्थायी रूपमा बन्द गर्न सुझाव दिइएको थियो । साइबर सुरक्षा कम्पनी विजले यी कमजोरीलाई एआई प्रविधिबाट पत्ता लागेको अहिलेसम्मकै सबैभन्दा गम्भीर कमजोरीमध्येका रूपमा जनाएको छ ।




