काठमाडौं । नेपाल र भारतबीच पर्यटन प्रवद्र्धन, लगानी तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले ‘नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आइतबारदेखि सुरु हुँदैछ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा हुने कार्यक्रममा भारतका विभिन्न शहरबाट पर्यटन तथा ट्राभल व्यवसायी सहभागी हुँदैछन्। उनीहरूलाई सुनौली सीमा नाकामा स्वागत गरिनेछ।
कार्यक्रममार्फत नेपाली होटल, रिसोर्ट, ट्राभल कम्पनी तथा पर्यटन गन्तव्यलाई भारतीय बजारसँग जोड्ने, संयुक्त पर्यटन प्याकेज बनाउने र दुवै देशका व्यवसायीबीच दीर्घकालीन साझेदारी विकास गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रमअन्तर्गत भारतीय प्रतिनिधिमण्डलले रामग्राम स्तूप र नवलपुरको अमलटारीस्थित थारू गाउँ रिसोर्टको अवलोकन गर्नेछ। त्यहाँ पर्यटन व्यवसायीबीच छलफल तथा व्यावसायिक साझेदारीका सम्भावनाबारे अन्तरक्रिया हुनेछ।
आयोजकका अनुसार चितवनको प्राकृतिक पर्यटन, नवलपुरको थारू संस्कृति, लुम्बिनीको बौद्ध सम्पदा र पोखराको प्राकृतिक सौन्दर्यलाई समेटेर संयुक्त पर्यटन प्याकेज विकास गर्ने सम्भावनाबारे पनि छलफल गरिनेछ।




