काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष ०८३/८४ को असोज महिनामा भारततर्फ पाँच अर्ब ९२ करोड ५० लाख रुपैयाँबराबरको विद्युत् निर्यात गरेको छ। बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन प्रभावित भए पनि गत वर्षको असोज र चालु आवको भदौको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातबाट प्राप्त आम्दानी बढेको हो।
यसैबिच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पनि पुनः सुरु भएको छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अन्य जलविद्युत् आयोजनाको विद्युत् निर्यात गर्न अनुमति प्राप्त भएपछि कात्तिक ६ गते शुक्रबार साँझदेखि निर्यात सुरु भएको हो।
असोजमा ६३ करोड युनिटभन्दा बढी विद्युत् निर्यात
नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र)को तथ्यांकअनुसार असोज महिनामा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार आठ युनिट विद्युत् निर्यात भएको छ। उक्त विद्युत् बिक्रीबाट प्राधिकरणले पाँच अर्ब ९२ करोड ५० लाख रुपैयाँबराबरको कारोबार गरेको छ।
असोज महिनामा भारततर्फ विद्युत् निर्यात द्विपक्षीय विद्युत् बिक्री सम्झौता र भारतीय ऊर्जा विनिमय बजार (आइएक्समार्फत गरिएको थियो। द्विपक्षीय सम्झौताअनुसार भारतको हरियाणा र बिहार राज्यमा विद्युत् बिक्री गरिएको थियो भने बाँकी विद्युत् डे–अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको प्राधिकरणले जनाएको छ।
गत वर्ष ०८२ को असोजमा भारततर्फ विद्युत् निर्यातबाट चार अर्ब ९६ करोड ३० लाख रुपैयाँबराबरको कारोबार भएको थियो। त्यस्तै, चालू आवको भदौमा पाँच अर्ब नाै करोड २५ लाख रुपैयाँको विद्युत् निर्यात भएको थियो।
यसअनुसार गत वर्षको असोजको तुलनामा यस वर्षको असोजमा निर्यात कारोबार ९६ करोड २० लाख रुपैयाँले र भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँले बढेको छ। चालू आवको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बाढीका कारण निर्यातका लागि स्वीकृति प्राप्त केही जलविद्युत आयोजनाको उत्पादन बन्द भए पनि असोजमा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको बताए।
उनका अनुसार असोजमा भारततर्फ निर्यात गरिएको कुल विद्युतमध्ये करिब दुईतिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी भारतीय ऊर्जा विनिमय बजारमार्फत बिक्री गरिएको थियो।
बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु
नेपालबाट भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात कात्तिक ६ गते शुक्रबार साँझदेखि पुनः सुरु भएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बंगलादेशतर्फ विद्युत् निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पुर्याएको थियो। त्यसपछि बंगलादेशतर्फको विद्युत् निर्यात रोकिएको थियो। बाढीका कारण हरियाणा राज्यतर्फको विद्युत् निर्यातसमेत आंशिक रूपमा प्रभावित भएको थियो।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अन्य जलविद्युत् केन्द्रमा उत्पादित विद्युत् बंगलादेशतर्फ निर्यात गर्न अनुमति प्राप्त भएपछि निर्यात पुनः सुरु भएको कार्यकारी निर्देशक श्रेष्ठले बताए। नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत् केन्द्रको सट्टा सोलु, काबेली– १ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बंगलादेश तथा हरियाणातर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको छ।
श्रेष्ठका अनुसार बाढीबाट प्रभावित आयोजनाको उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगे पनि अन्य आयोजनाबाट विद्युत् निर्यातलाई निरन्तरता दिन सकिनु र बंगलादेशतर्फको निर्यात पुनः सुरु हुनु नेपालको विद्युत् व्यापारका लागि महत्त्वपूर्ण उपलब्धि हो। यसले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युतको बजार व्यवस्थापन तथा क्षेत्रीय विद्युत् व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बिच ०८१ असोज १७ गते वर्षायामको विद्युत् निर्यातसम्बन्धी पाँचवर्षीय सम्झौता भएको थियो। सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरिँदै आएको छ।
विद्युत् निर्यात क्षमता १,१७९ मेगावाट पुग्यो
यसैबिच, भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यातको अनुमति प्राप्त भएको छ। नयाँ अनुमतिसँगै भारततर्फ निर्यात गर्न स्वीकृति प्राप्त कुल विद्युत् क्षमता करिब एक हजार १७९ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणले देशभित्रको माग पूरा गरी बचत हुने वर्षायामको विद्युत् भारत तथा बंगलादेशमा निर्यात गर्दै आएको छ। द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा प्रत्येक वर्ष जुनदेखि अक्टोबरसम्म विद्युत् बिक्री गरिन्छ।
विद्युत् निर्यातको परिमाण र बजार विस्तारले नेपालको जलविद्युत् क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न तथा क्षेत्रीय ऊर्जा व्यापारलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।




