Global College

नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन: आर्थिक वर्ष २०८२/८३ मा समष्टिगत आर्थिक सूचकहरूमा सकारात्मक सुधार

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार देशको समष्टिगत आर्थिक तथा वित्तीय क्षेत्रमा उल्लेखनीय सकारात्मक प्रगतिहरू देखिएका छन्।

समीक्षा वर्षमा देशको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर आधारभूत मूल्यमा ३.६८ प्रतिशत र उत्पादकको मूल्यमा ३.८५ प्रतिशत रहेको प्रारम्भिक अनुमान गरिएको छ । अघिल्लो वर्ष यस्तो वृद्धिदर क्रमशः ३.८० प्रतिशत र ४.४३ प्रतिशत रहेको थियो। समीक्षा वर्षमा कृषि क्षेत्रको उत्पादन १.५८ प्रतिशतले र गैर-कृषि क्षेत्रको उत्पादन ४.५४ प्रतिशतले वृद्धि भएको छ। गैर-कृषि क्षेत्रअन्तर्गत उद्योग क्षेत्रको उत्पादन ५.६७ प्रतिशत र सेवा क्षेत्रको उत्पादन ४.२१ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ। कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २४.०३ प्रतिशत, १४.१६ प्रतिशत र ६१.८१ प्रतिशत रहेको छ। साथै, प्रदेशगत रूपमा बागमती प्रदेशको अंश सबैभन्दा धेरै ३६.७१ प्रतिशत र कर्णाली प्रदेशको अंश सबैभन्दा कम ४.२० प्रतिशत रहने अनुमान गरिएको छ।

आर्थिक वर्ष २०८२/८३ मा मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा सीमित राख्ने लक्ष्य राखिएकोमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.०८ प्रतिशतमा सीमित रहन सफल भएको छ ।अघिल्लो वर्ष यस्तो मुद्रास्फीति ४.०६ प्रतिशत थियो। समीक्षा वर्षको पहिलो पाँच महिनासम्म खाद्य तथा पेय पदार्थ समूहका केही वस्तुहरूको मूल्यवृद्धि ऋणात्मक रहेकाले मुद्रास्फीतिमा दबाब कम भए पनि त्यसपछि शिक्षा, विविध वस्तु तथा सेवा र वर्षको अन्त्यतिर यातायातको भाउ बढेकाले केही दबाब महसुस गरिएको थियो।

बाह्य क्षेत्रतर्फ समीक्षा वर्षमा कुल वस्तु निर्यात १३.८ प्रतिशतले वृद्धि भई ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ भने कुल वस्तु आयात १६.२ प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। फलस्वरुप कुल वस्तु व्यापार घाटा १६.६ प्रतिशतले बढेर १७ खर्ब ८१ अर्ब ९ करोड रुपैयाँ कायम भएको छ। यस अवधिमा विप्रेषण आप्रवाहमा ३७.१ प्रतिशतको उच्च वृद्धि भई २३ खर्ब ६३ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। यसको प्रभावस्वरूप चालु खाता ९ खर्ब २३ अर्ब ५६ करोडले र शोधनान्तर स्थिति १० खर्ब २७ अर्ब ४ करोडले बचतमा रहेको छ। २०८३ असार मसान्तमा देशको कुल विदेशी विनिमय सञ्चिति ४५.६ प्रतिशतले वृद्धि भई ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ यता अमेरिकी डलर २५ अर्ब ३१ करोड पुगेको छ। यो सञ्चिति २३ महिनाको वस्तु र १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ।

नेपाल सरकारको राजस्व परिचालन प्रदेश र स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत ५.३ प्रतिशतले बढेर १२ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ भने कुल सरकारी खर्च ४.६ प्रतिशतले बढेर १५ खर्ब ८२ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। समीक्षा वर्षमा चालु खर्च १० खर्ब ४३ अर्ब ९९ करोड, पुँजीगत खर्च १ खर्ब ९० अर्ब ८४ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ४७ अर्ब ३३ करोड रुपैयाँ खर्च भएको छ। २०८३ असार मसान्तसम्म नेपाल सरकारको कुल तिर्न बाँकी सरकारी ऋण २९ खर्ब ७४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४५.१ प्रतिशत हुन आउँछ।

मौद्रिक तथा वित्तीय क्षेत्रतर्फ विस्तृत मुद्राप्रदाय १३.४ प्रतिशतले बढेको छ भने बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १३.९ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ६.५ प्रतिशतले वृद्धि भई ५८ खर्ब ५७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। अधिक तरलताका कारण अल्पकालीन ब्याजदरहरू घट्दो क्रममा रहेका छन्। त्यस्तै, २०८३ असार मसान्तमा नेप्से परिसूचक २,५९७.८ विन्दुमा कायम भई बजार पुँजीकरण ४४ खर्ब ६३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। यसका साथै, नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफाबाट सबै आवश्यक विनियोजनपछि बाँकी रहेको ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ।

NECO

Leave Your Comment

Related News