RE
Global College

अर्थमन्त्री वाग्लेबाट दिल्लीलाई खुसी पार्ने भाषणको होइन आत्मसम्मानपूर्ण कूटनीतिको अपेक्षा थियो : प्राध्यापक भुसाल

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय (टीयू) का अर्थशास्त्रका प्राध्यापक डा. तारा भुसालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा व्यक्त गरेको धारणाको आलोचना गरेका छन् ।

एनडीटीभी वर्ल्ड समिटमा अर्थमन्त्री डा. वाग्लेको सम्बोधन र उनका अभिव्यक्तिहरू सुनिएको उल्लेख गर्दै डा. भुसालले सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका हुन् । उनले अर्थमन्त्री वाग्लेबाट दिल्लीलाई खुसी पार्ने भाषणको होइन आत्मसम्मानपूर्ण कूटनीतिको अपेक्षा गरेको प्रतिक्रिया समेत दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत् उक्त प्रतिक्रिया व्यक्त गरेका हुन् ।

उनी लेख्छन्, ‘विश्व बैंक र यूएनडीपीमा लामो अनुभव बटुलेका एक स्थापित अर्थशास्त्री तथा नेपालका अर्थमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा अर्थतन्त्र र क्षेत्रीय सहकार्यका कुरा उठाउनु आफैंमा सकारात्मक हो । तर, जुन मिडिया प्लेटफर्म, राजनीतिक पृष्ठभूमि र रणनीतिक समयमा यो भयो त्यहाँ केही गम्भीर प्रश्नहरू खडा हुन्छन् ।’

डा. भुसालले कूटनीतिक मर्यादामै प्रश्न उठाएका छन् ।

‘एक देशको बहालवाला अर्थमन्त्रीले अर्को देशका विदेशमन्त्रीलाई ग्यालरीबाट प्रश्न सोध्ने शैली र दिल्लीको राजनीतिक मञ्चमा प्रस्तुत हुने तरिकाले कूटनीतिक मर्यादा (प्रोटोकल) को पालना भयो कि भएन ?,’ डा. भुसाल लेख्छन्, ‘यदि यो भ्रमण आगामी दिनमा सत्ता समीकरणका लागि दिल्लीको आशीर्वाद वा वैधानिकता खोज्ने प्रयास हो भने, यसले नेपालको स्वतन्त्र विदेश नीति र राष्ट्रिय स्वाभिमानमा पुन: प्रश्न उठाउँछ ।’

साथै, उक्त मञ्चमा डा. वाग्लेले व्यक्त गरेको बिचारप्रति पनि डा. भुसालको प्रश्न छ ।

उनी लेख्छन्, ‘भारतविरोधी अन्ध–राष्ट्रवाद गलत हो, त्यसमा दुईमत छैन । तर, भारत विरोधी नहुनुको अर्थ नेपालका वास्तविक आर्थिक र भौगोलिक चासोहरूलाई बिर्सेर भारतीय संस्थापनकै बोलीमा बोली मिलाउनु होइन ।’

 

डा. भूसालको भनाई

मा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सम्बोधन र उहाँका अभिव्यक्तिहरू सुनियो।
विश्व बैंक र UNDP मा लामो अनुभव बटुलेका एक स्थापित अर्थशास्त्री तथा नेपालका अर्थमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा अर्थतन्त्र र क्षेत्रीय सहकार्यका कुरा उठाउनु आफैंमा सकारात्मक हो। तर, जुन मिडिया प्लेटफर्म, राजनीतिक पृष्ठभूमि र रणनीतिक समय (Context) मा यो भयो—त्यहाँ केही गम्भीर प्रश्नहरू खडा हुन्छन्।

१. कर्पोरेट/सत्ता संरक्षित मिडियाको भाष्य (Narrative Building):
अदानी समूहको स्वामित्वपछि NDTV को सम्पादकीय निष्पक्षता र मोदी सरकारप्रतिको झुकाव सर्वविदितै छ। यस्तो मञ्चलाई दिल्लीले आफ्नो ‘सफ्ट पावर’ र विदेशी नीति सफल भएको देखाउन प्रयोग गर्दै आएको छ। त्यहाँ पुगेर “नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो” भन्दै काठमाडौँको तर्फबाट ‘सर्टिफिकेट’ दिनु कति हतारो थियो? के यो नेपालको नयाँ राजनीतिक नेतृत्वले भारतीय संस्थापन पक्ष (Establishment) लाई दिएको ‘आत्मसमर्पणवादी आश्वस्तता’ (Reassurance) मात्र त होइन?

२. व्यापार घाटा र रणनीतिक मुद्दामा मौनता:
अर्थशास्त्रीय दृष्टिकोणबाट नेपाल-भारत सम्बन्धको मुख्य चुरो गैर-भन्सार अवरोध (Non-Tariff Barriers), व्यापार घाटा (Trade Deficit), ऊर्जा व्यापारमा भारतीय एकाधिकार, र कालापानी/लिपुलेक जस्ता विवादित सीमा मुद्दा हुन्। तर, वाग्लेज्यूले आर्थिक सहकार्य र विपद् व्यवस्थापनका ‘सुरक्षित र हलुका’ विषयमा मात्र कुरा सीमित राख्नुभयो। यस्ता गम्भीर मुद्दालाई ओझेलमा पारेर “Joined at the Hip” (हामी सँगै जोडिएका छौँ) जस्ता भावनात्मक शब्द प्रयोग गर्नुले काठमाडौँको कूटनीतिक साख र बार्गेनिङ पावर (Bargaining Power) बढाउँदैन।

३. कूटनीतिक मर्यादा र भावी सत्ताको संकेत:
एक देशको बहालवाला अर्थमन्त्रीले अर्को देशका विदेशमन्त्रीलाई ग्यालरीबाट प्रश्न सोध्ने शैली र दिल्लीको राजनीतिक मञ्चमा प्रस्तुत हुने तरिकाले कूटनीतिक मर्यादा (Protocol) को पालना भयो कि भएन? यदि यो भ्रमण आगामी दिनमा सत्ता समीकरणका लागि दिल्लीको ‘आशिर्वाद’ वा ‘वैधानिकता’ खोज्ने प्रयास हो भने, यसले नेपालको ‘स्वतन्त्र विदेश नीति’ र राष्ट्रिय स्वाभिमानमा पुनः प्रश्न उठाउँछ।
भारतविरोधी अन्ध-राष्ट्रवाद गलत हो, त्यसमा दुईमत छैन। तर, भारत विरोधी नहुनुको अर्थ नेपालका वास्तविक आर्थिक र भौगोलिक चासोहरूलाई बिर्सेर भारतीय संस्थापनकै ‘बोलीमा बोली मिलाउनु’ होइन।
अर्थशास्त्री डा. वाग्लेबाट ‘तथ्यमा आधारित र आत्मसम्मानपूर्ण कूटनीति’ को अपेक्षा थियो ,केवल दिल्लीलाई खुसी पार्ने भाषणको होइन।

 

एनडीटीभी वर्ल्ड समिटमा अर्थमन्त्री डा. वाग्लेको सम्बोधन

भ्रमणका क्रममा भारतको नयाँ दिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै उनले नेपाली राष्ट्रवादलाई भारतको विरोधका रूपमा बुझ्ने युगको अन्त्य भएको बताएका थिए ।

नयाँ पुस्ताको आकांक्षा आर्थिक समृद्धि र सुशासन रहेको स्पष्ट पार्दै नेपालको परराष्ट्र नीति सकारात्मक दिशामा अघि बढेको बताएका हुन् ।

विगतमा दशकौंसम्म निश्चित वैचारिक प्रशिक्षणका कारण नेपाली राष्ट्रवादलाई भारत–विरोधसँग जोडेर हेर्ने भाष्य निर्माण भएको उनले बताएका छन् ।

‘तर, हाम्रो पुस्ता फरक छ । हामीले विश्व देखेका छौँ, हाम्रा आकांक्षाहरू आर्थिक छन् । हामी राम्रो रोजगारी, सुशासन र असल छिमेकी सम्बन्ध चाहन्छौँ,’ डा. वाग्लेले भनेका छन्, ‘त्यसैले म निकै खुसीका साथ भन्न सक्छु कि नेपाली राष्ट्रवादलाई ‘एन्टी–इन्डियनिज्म’ सँग जोड्ने त्यो युग अब सकियो ।’

NECO

Leave Your Comment

Related News