RE
Global College

बार्सिलाेनाकाे अपराजित यात्रामा पूर्णबिराम, एल क्लासिकोमा रियल विजयी

काठमाडौं । किलियन एम्बाप्पेले दुई गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगाको एल क्लासिकोमा बार्सिलोनालाई २–१ ले पराजित गरेको छ। बार्सिलोनाको मैदान क्याम्प नोउमा आइतबार राति भएको खेलमा एम्बाप्पेले ८७औँ मिनेटमा निर्णायक गोल गर्दै रियललाई जित दिलाएका हुन्। यसअघि उनले ४१औँ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए।

बार्सिलोनाका कप्तान राफिन्हाले दोस्रो ६१औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए। तर एम्बाप्पेले खेल सकिन तीन मिनेट बाँकी छँदा गोल गरेपछि रियलले महत्त्वपूर्ण ३ अंक जोड्यो। पहिलो गोलमा बार्सिलोनाका डिफेन्डर जेरार्ड मार्टिनको गल्ती निर्णायक बनेको थियो। यान डिओमान्डेको लो क्रस क्लियर गर्ने क्रममा मार्टिनलाई लागेको बल एम्बाप्पेमा ठोक्किँदै गोलमा परिणत भएको थियो।

पहिलो हाफमै एम्बाप्पेको अर्को प्रहार पोस्टमा लागेको थियो भने बार्सिलोनाका युवा फरवार्ड लामिन यमलले नजिकबाट गोल गर्ने अवसर गुमाएका थिए। दोस्रो हाफमा पेड्रीको पासमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए। तर खेल बराबरीमा सकिने संकेत देखिएका बेला

जुड बेलिङ्घमले सुरु गरेको आक्रमणमा वैकल्पिक खेलाडी एडुआर्डो कामाभिङ्गाले पास मिलाएपछि एम्बाप्पेले खाली पोस्टमा गोल गरे। पहिलो रोजाइका गोलरक्षक थिबाउ कोर्टुवा बिरामी भएका कारण खेल्न नसकेपछि रियलका लागि आन्द्रे लुनिनले गोलपोस्ट सम्हालेका थिए। उनले उत्कृष्ट बचाउ गर्दै टोलीको जितमा महत्त्वपूर्ण योगदान दिए।

यो जितसँगै रियलले बार्सिलोनालाई लगातार नौ जितको कीर्तिमान बराबरी गर्नबाट रोकेको छ। सन् १९६८–६९ मा रियलले सिजनको सुरुवातमा लगातार नौ खेल जितेको थियो। बार्सिलोना यो सिजन उक्त कीर्तिमान तोड्ने लक्ष्यमा थियो।

एम्बाप्पेले सन् २०२४ मा पिएसजीबाट रियल पुगेयता बार्सिलोनाविरुद्ध ७ खेलमा ८ गोल गरिसकेका छन्। उनले यो सिजन ला लिगामा आफ्नो गोलसंख्या ११ पुर्‍याएका छन्। राफिन्हाले १३ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा अग्रता कायम राखेका छन्।

ला लिगामा १० खेलपछि बार्सिलोना २७ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडभन्दा बार्सिलोना दुई अंकले अगाडि छ । रियल २४ अंकसहित तेस्रो स्थानमा छ।

NECO

Leave Your Comment

Related News