RE
Global College

व्यावसायिक केरा खेतीः ११ लाख आम्दानी

स्याङ्जा । प्रेमनारायण पङ्गेनीले व्यावसायिक केरा खेतीबाट वार्षिक ११ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

स्याङ्जाको चापाकोट नगरपालिका–१० आँधीघाटका पङ्गेनीले आफ्नै थातथलोमा व्यावसायिक केरा खेती गरेर उक्त आम्दानी गर्न सफल भएका हुन् ।

एक रोपनी क्षेत्रफलमा १०० केराका बिरुवा लगाएर सुरु गरेको व्यवसायलाई विस्तार गर्दै अहिले ६१ रोपनी क्षेत्रफलमा छ हजार १०० केराका बिरुवा लगाएका छन् ।

कालीगण्डकी नदीको किनारमा अवस्थित खेतमा केराको उत्पादन राम्रो हुने ठानेर सुरु गरेको खेती अहिले निकै फस्टाएको छ । “व्यवसायका क्रममा मैले धेरै क्षेत्रमा हात हालेँ”, उनले भने, “सबैभन्दा खुसी र सन्तुष्टि मलाई यही केरा खेतीबाट मिलेको छ ।”

सुरुमा स्थानीय ‘मालभोग’ र ‘जि नाइन’ प्रजातिको केरा लगाएका पङ्गेनीले हाल जि नाइन जातको केरा हटाएर स्थानीय मालभोग मात्रै लगाएका छन् ।

केराबाट राम्रो आम्दानी हुन थालेपछि धान तथा मकै खेती हुँदै आएको जमिनमा केरा खेती विस्तार गरेको उनले बताए । “अन्य खेतीभन्दा केरा खेती सहज लाग्यो, उत्पादित केराको बजारमा माग पनि उच्च रहेकाले केरा खेती थालेको हुँ”, उनले भने, “आफ्नो १३ रोपनी र बाँकी अरूको जग्गा बन्धकी र भाडामा लिएर ६१ रोपनी क्षेत्रफलमा केरा खेती गरेको छु ।”

यहाँ उत्पादन भएको स्थानीय जातको मालभोग केरा अन्य केराभन्दा ठूलो र आकर्षक हुनुका साथै विषादीरहित तरिकाले पकाएर बिक्री गरिने भएकाले स्थानीय बजारमा अत्यधिक खपत हुने गरेको उनले बताए ।

विषादी तथा अखाद्य वस्तुको प्रयोग गरेर केरा नपकाउने र अर्गानिक केरा भएकै कारण स्थानीय चापाकोट बजारमा बिक्री हुँदै आएको छ ।

राम्रो र ठूला कोसा भएको केरा प्रतिदर्जन २०० रुपैयाँ र साना कोसा भएका केरा प्रतिदर्जन १५० रुपैयाँका दरले बिक्री हुने गरेको छ । “खेतमा रहेका छ हजार २०० बोटमध्ये अहिले दुई हजार २०० बोटले उत्पादन दिन्छन्”, उनले भने, “यी बोटबाट उत्पादन भएका केरा बिक्री गरेर वार्षिक ११ लाखभन्दा बढी आम्दानी हुँदै आएको छ ।”

खेतमा भएका सबै बोटले उत्पादन दिन थालेपछि वार्षिक ३० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने लक्ष्य पङ्गेनीको छ ।

घरपरिवारले रेखदेख गर्दै आएको उक्त केरा खेतीमा गोडमेललगायतका कामका लागि स्थानीयले समयसमयमा रोजगारीसमेत पाउने गरेका छन् ।

NECO

Leave Your Comment

Related News