काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी चितवन राइनोजसँग किसान एग्रोबेस इन्डस्ट्रिज लिमिटेड सहकार्यमा जोडिएको छ।
कम्पनीले एनपीएलका तेस्रो र चौथो संस्करणका लागि चितवन राइनोजको सह–प्रायोजक बन्ने सम्झौता गरेको हो।
कृषि, पर्यटन तथा उत्पादन क्षेत्रमा एकीकृत व्यावसायिक अवधारणासहित काम गर्दै आएको किसान एग्रोबेसले नेपाली खेलकुद र कृषि उद्यमलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले सहकार्य गरेको जनाएको छ।
किसान एग्रोबेसका अध्यक्ष सुमन न्यौपानेले एनपीएलमा चितवन राइनोजको सह–प्रायोजकका रूपमा जोडिन पाउँदा खुसी व्यक्त गरे। उनले यस सहकार्यलाई नेपाली खेलकुदको विकासमा आफ्नो तर्फबाट योगदान थप्ने अवसरका रूपमा लिएको बताए।
कृषि र खेलकुद दुवै क्षेत्रमा मेहनत, अनुशासन र सामूहिक प्रयासको महत्त्व समान रहेको उनले बताए। सहकार्यका माध्यमबाट नेपाली कृषि उत्पादन र युवाको ऊर्जालाई एउटै मञ्चमा जोड्ने कम्पनीको लक्ष्य रहेको उनले बताए।
२०८१ चैत २१ गते काठमाडौंमा प्रधान कार्यालय स्थापना गरी सञ्चालनमा आएको किसान एग्रोबेसले छोटो अवधिमै धनकुटा, मोरङ, नवलपरासीलगायतका विभिन्न स्थानमा व्यावसायिक उपस्थिति विस्तार गरिसकेको जनाएको छ।
कृषि क्षेत्रमा विद्यमान चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै व्यावसायिक सम्भावना विस्तार गर्ने उद्देश्यका साथ कम्पनी अघि बढिरहेको छ। चितवन राइनोजसँगको सहकार्यले कृषि उद्यमको प्रवर्द्धन र नेपाली खेलकुदबीचको सम्बन्ध थप बलियो बनाउने अपेक्षा कम्पनीले गरेको छ।
नेपाली क्रिकेटको लोकप्रिय प्रतियोगिताका रूपमा स्थापित हुँदै गएको एनपीएलले खेलकुदसँगै व्यावसायिक संस्था र उत्पादनमूलक क्षेत्रलाई समेत जोड्ने अवसर प्रदान गर्दै आएको छ।
चितवन राइनोजसँगको यो सहकार्यले कृषि क्षेत्रको व्यावसायिक पहिचान विस्तारमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।




