काठमाडौं । नेपालको रेमिटेन्स क्षेत्रमा झन्डै दुई दशकदेखि सक्रिय सिटी एक्सप्रेस मनी ट्रान्सफरले डिजिटल वालेट र वित्तीय प्रविधि (फिनटेक) क्षेत्रमा आफ्नो लगानी विस्तार गर्दै व्यावसायिक जोखिम व्यवस्थापनलाई थप सुदृढ बनाएको छ। क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालको पछिल्लो प्रतिवेदनअनुसार स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी वालेटजस्ता डिजिटल मञ्चहरूमा गरिएको रणनीतिक लगानीका कारण कम्पनीको व्यापारिक दायरा फराकिलो हुनुका साथै १ अर्ब रुपैयाँ बराबरको छोटो अवधिको बैंक कर्जाका लागि ‘आईआरएन ए टु प्लस’ (IRN A2+) को सुरक्षित रेटिङ प्राप्त भएको छ।
अनुभवी सञ्चालक समिति र व्यवस्थापन टोलीद्वारा सञ्चालित यस कम्पनीको बजारमा राम्रो पकड रहेको छ। देशभर २५ हजारभन्दा बढी प्रतिनिधि हरूको सञ्जाल फैलाएको यस कम्पनीले नेपाल भित्रिने कुल विप्रेषणमा करिब १४ प्रतिशत हिस्सा ओगटेको छ। यसका साथै स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी वालेटजस्ता डिजिटल तथा वित्तीय क्षेत्रमा गरेको लगानीले कम्पनीको व्यापारलाई थप फराकिलो बनाउन मद्दत गरेको छ। कम्पनीको वित्तीय ढाँचा सुरक्षित रहेको तथा ऋण तिर्ने क्षमता पनि सन्तोषजनक देखिएको छ।
कम्पनीको लामो कार्यअनुभव र अनुभवी नेतृत्व नै यसको सबैभन्दा ठूलो तागत हो। अध्यक्ष डोलराज शर्मा र प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायतको टोलीसँग बैंकिङ, विप्रेषण र वित्तीय प्रविधि (फिनटेक) क्षेत्रको लामो अनुभव छ। यसको कर्जा तथा पुँजी संरचना सहज स्थितिमा रहेको छ भने बैंकबाट लिने छोटो अवधिको कर्जाको प्रयोग पनि नियन्त्रणमै छ।
कम्पनीले आर्थिक वर्ष २०२६ मा ऋण भुक्तानी क्षमता सूचक ४.२९ गुणा र ब्याज भुक्तानी अनुपात ४.०० गुणा कायम राखेको छ, जसले यसको आर्थिक स्थिति सुरक्षित रहेको प्रष्ट पार्छ। नेपालमा वैदेशिक रोजगारीका लागि बाहिरिने कामदारको संख्या निरन्तर रहनु र विप्रेषण क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढ्दै जानुले यस उद्योगको भविष्य पनि सकारात्मक देखाएको छ।
यी सबल पक्षहरूका बाबजुद कम्पनीमा केही मुख्य कमजोरी तथा चुनौतीहरू पनि विद्यमान छन्। बजारमा तीव्र प्रतिस्पर्धा बढेका कारण कम्पनीको कुल सञ्चालन आम्दानी विगतका वर्षहरूमा केही घटेको छ। आर्थिक वर्ष २०२२ मा ८२६ मिलियन (८२ करोड ६० लाख) रुपैयाँ रहेको कुल आम्दानी घटेर आर्थिक वर्ष २०२५ मा ५६७ मिलियन (५६ करोड ७० लाख) रुपैयाँमा झरेको थियो भने आर्थिक वर्ष २०२६ मा यो ५६ करोड १० लाख रुपैयाँमा स्थिर जस्तै रहेको छ।
आम्दानीको मुख्य स्रोतमध्ये कमिसनबापत आउने रकम घटेर विदेशी मुद्रा विनिमय आम्दानीको हिस्सा बढेको छ। यसका साथै, विप्रेषण उद्योगमा बैंक तथा अन्य डिजिटल वालेटहरूसँगको कडा प्रतिस्पर्धा, खाडी मुलुकका रोजगार तथा आप्रवासन नीतिहरूमा आउने फेरबदल र नेपाल राष्ट्र बैंकका कडा नियमहरूको पालना गर्नुपर्ने चुनौती कम्पनीका लागि सधैं रहने गरेका छन्। यी सबै विषयलाई ध्यानमा राख्दै आगामी दिनमा कम्पनीले आफ्नो आम्दानी र नाफा बढाउँदै बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमतालाई बलियो बनाउनु पर्ने देखिन्छ।



