काठमाडौं । मुलुकको सार्वजनिक ऋण चालु आर्थिक वर्ष (आव) कार्तिकमसान्तसम्म २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख पुगेको छ । पछिल्लो चार महिना अर्थात् कार्तिकमसान्तसम्ममा १ खर्ब ५३ अर्ब ८४ करोड थप हुँदा र विनिमय दरमा ४३ अर्ब ११ करोड २० लाख नाफा हुँदा सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख पुगेको हो । चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड रहेको थियो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार मुलुकको सार्वजननिक ऋण कुल गार्हस्थ उत्पादनको ४५.०८ प्रतिशत हो । कुल सार्वजनिक ऋणमा कार्तिकमसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा २३.८६ प्रतिशत अर्थात् १५ खर्ब ७४ अर्ब ६४ करोड र आन्तरिक ऋणको हिस्सा २१.२२ प्रतिशत अर्थात् १४ खर्ब ४७ करोड रहेको छ ।
चालु आवमा कुल ६ खर्ब ५८ अर्ब २८ करोड सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा कार्तिकमसान्तसम्म १ खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति २३.३७ प्रतिशत अर्थात् १ खर्ब ५३ अर्ब ८४ करोड रहेको छ । जसमा आन्तरिक १ खर्ब २५ अर्ब र वैदेशिक ऋण २८ अर्ब ८४ करोड रहेको छ । जुन वार्षिक लक्ष्यको क्रमशः ३०.४९ र ११.६२ प्रतिशत हो ।
चालु आवको कार्तिकमसान्तसम्ममा ऋण सेवा खर्च अर्थात् सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी १ खर्ब ४० अर्ब ९३ करोड रहेको छ । जुन वार्षिक बजेट विनियोजनको आधारमा ३३.७३ प्रतिशत हो । कुल र्गाहस्थ उत्पादनको आधारमा कार्तिकमसान्तसम्ममा कुल ऋण सेवा खर्च २.१४ प्रतिशत रहेको छ । चालु आवको लागि सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीको लागि ४ खर्ब १७ अर्ब ८८ करोड बजेट विनियोजन गरिएको छ ।
समिक्षा अवधिमा आन्तरिक ऋणतर्फ साँवा भुक्तानी ९९ अर्ब ९४ करोड र ब्याज भुक्तानी १९ अर्ब २४ करोड रहेको छ । साथै बाह्य ऋणको साँवा भुक्तानी १७ अर्ब ३८ करोड र ब्याज भुक्तानी ४ अर्ब ३६ रोड रहेको छ ।
पछिल्लो समय नेपालका लागि बाह्य ऋणको तुलनामा आन्तरिक ऋण भुक्तानी बढी सकसपूर्ण बन्दै गएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमबाट सिर्जित समस्याका कारण ब्याजदर बढ्नु र भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याजको भार बढेका कारण समस्या रहेको सूचना अधिकारी मोहन सिंह बस्नेतले बताए । ‘ऋणपत्र र ट्रेजरी बिलहरू महँगो ब्याजदरमा ल्याउनुपरेको छ । बाह्य ऋण सहुलियत ब्याजदरको र लामो समयका लागि लिइने भएका कारण त्यसमा आन्तरिक ऋणमा जस्तो चाप देखिँदैन’, उनले भने । अहिलेसम्म नेपालले विदेशी दातृ निकायबाट व्यावसायिक ऋण प्रयोग गरेको छैन । सहुलियतपूर्ण कर्जा मात्रै लिने गरेको छ । अधिकांश बाह्य ऋण करिब एक प्रतिशत ब्याजदरमै लिइएको छ । तर नेपालले लिएको विदेशी ऋण विदेशी मुद्रामा तिर्नुपर्ने भएकाले विनिमय दरमा आउने उतारचढावको प्रभाव परिरहेको छ ।



