काठमाडौं । सरकारले दुग्ध किसानको २ अर्ब रुपैयाँ बक्यौता रकम भुक्तानी गरेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चाडो भन्दा चाडो दुग्ध किसानको बक्यौता रकम भुक्तानी गर्ने भने पनि त्यसो गर्न सकेन् । अर्थ मन्त्रालयले बजेट नदिए सँगै मन्त्रालयले किसानलाई रकम भुक्तानी गर्न नसकेको बताएको छ । यो सँगै चाडवाडको समयमा अर्थात् दशैंमा पनि किसानले दुग्ध बिक्री वापत्को पैसा पाउन सकेनन् ।
हालसम्म ९० करोड रुपैयाँ भुक्तानी गरेको दुग्ध विकास संस्थान (डीडीसी) ले बाँकी रकम भुक्तानी कहिले गर्ने ? भन्ने विषयमा समेत समय निक्र्यौल गर्न सकेको छैन , जसले गर्दा किसानमा अन्यौलता थपिएको छ ।
डीडीसीले किसानको करिब २ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताउँदै केन्द्रीय दुग्ध सहकारी संघ नेपालका अध्यक्ष अम्बर कुँवरले भने यसमध्ये अहिलेसम्म ९० करोड रुपैयाँमात्र किसानले भुक्तानी पाएका छन् । डीडीसीले किसानलाई दूधको बक्यौता दिन अब १ अर्बभन्दा बढी बाँकी रहेको उनको भनाई छ । समयमा नै भुक्तानी दिएर किसानलाई राहत दिने काम गर्नुपर्नेमा डीडीसीले थप समस्या सिर्जना गरेको समेत कुँवरले बताए । डीडीसीले दुधको वक्यौता रकम सदैव उद्यारो राख्ने गरेको छ , जसले गर्दा किसानहरु मारमा पर्ने गरेको छ । सरकारले पनि किसानको समस्यालाई चासो नदिदाँ थप समस्या भएको सरोकारावालाहरु बताउछन् ।
यता कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले छिटो भन्दा छिटो दुग्ध किसानको बक्यौता भुक्तानी गर्ने बताउदै आएका छन् , तर त्यसलाई कार्यान्वयन गर्न सकेका छैनन् । उनले भदौ ९ मा सार्वजनिक गरेको सय दिने कार्ययोजनामा दुग्ध किसानको सबै बक्यौता भुक्तानी गर्ने समेत उल्लेख गरेका थिए । उनले पटक–पटक सार्वजनिक रुपमा उखु र दुग्ध किसानको रकम दशैंअघि भुक्तानी गर्ने बताउँदै पनि आएका थिए । तर, किसानले अहिलेसम्म बक्यौताको आधा रकम पनि पाउन सकेका छैनन् भने मन्त्री अधिकारीले आफनै प्रतिवद्धता समेत पूरा गर्न सकेका छैनन् । मन्त्री अधिकारीको पहलमा दूधको बक्यौता भुक्तानी गर्न डीडीसीलाई ६० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराइएको थियो ।
संघका अनुसार निजी क्षेत्र र सरकारी गरी किसानको दूधको बक्यौता ४ अर्ब ८० करोड रुपैयाँ रहेको छ । पूर्व कृषिमन्त्री बेदुराम भुसालका पालामा ३० करोड रुपैयाँ भुक्तानी दिइएको थियो । अहिलेका मन्त्री अधिकारीले ऋण खोजेर ६० करोड रुपैयाँ दिएका छन् । सरकारले दिएको ९० करोड रुपैयाँमध्ये केही किसानले पाए भने केहीले अझै वैशाखदेखिकै पाउन बाँकी छ ।
अध्यक्ष कुँवरका अनुसार पछिल्लो समय निजी डेरी र डीडीसी दुवैले दूधको भुक्तानी गरिरहेका छन् । तर, सबै किसानले अझै पाउन सकेका छैनन् । दशैंपछि कति किसानले बक्यौता पाए, कतिले पाएनन् भन्ने यकिन तथ्यांक संकलन गरी फेरि मन्त्रालयसँग छलफल गर्ने अध्यक्ष कुँवरले जानकारी दिए ।
मन्त्रालयका अधिकारीहरुले भने दूधको बक्यौता १ अर्ब ६० करोड रुपैयाँमध्ये १ अर्ब ३० करोड भुक्तानी भएको बताएका छन् । पछिल्लो समय डीडीसीले दैनिक किसानको खातामा पैसा पठाइरहेको हुदाँ अब भुक्तानी गर्न बाँकी रकम ३० करोडमात्र रहेका उनीहरुको भनाई छ । डीडीसीका अधिकारीका अनुसार हाल दुधको असार–साउनसम्मको सबै रकम भुक्तानी भइसकेको छ । कुनै जिल्ला र स्थानहरुमा भदौसम्मको पनि भुक्तानी पठाइएको छ । डीडीसीले अबको २०–२५ दिनमा सबै रकम भुक्तानी गर्ने तयारीमा समेत रहेको बताइएको छ । डीडीसीले किसानहरु सँग दुध खरिद गरी दुधका साथै दुधजन्य पदार्थको बिक्री वितरण गर्दै आएको छ । सरकारले दुधको भुक्तानी नगर्दा किसानहरुले आन्दोलन समेत गर्नु परेको थियो । आन्दोलन पश्चयात मात्र सरकारले भुक्तानीलाई चासो दिदाँ किसानहरुले पटक पटक आन्दोलन गर्नु परेको थियो ।


