काठमाडौं । रोयल इन्फिल्डले ४० महिला राइडरको सहभागितामा ‘मिस्टिक मुस्ताङ राइड २’ सम्पन्न गरेको छ। नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले गत कात्तिक १२ देखि १५ गतेसम्म चारदिने राइड आयोजना गरेको हो। पोखरास्थित क्लासिक ड्राइभबाट सुरु भएको राइड मुस्ताङसम्म पुगेको थियो। यात्रामा सहभागी महिला राइडरहरूले नेपालको हिमाली भूगोल, प्राकृतिक सौन्दर्य र लामो दूरीको मोटरसाइकल यात्राको अनुभव लिएका थिए।
महिला राइडरलाई लामो दूरीको यात्रामा प्रोत्साहन गर्ने, आत्मविश्वास बढाउने र मोटरसाइकल राइडिङ समुदायमा महिलाको सहभागिता विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ। राइडले महिला राइडरबीच आपसी सम्बन्ध, अनुभव आदानप्रदान र सामुदायिक भावना विकास गर्नसमेत सहयोग पुर्याएको कम्पनीको भनाइ छ।
रोयल इन्फिल्डले आफ्नो ‘प्योर मोटरसाइक्लिङ’ अवधारणाअनुसार नेपालमा राइडिङ संस्कृति र समुदाय निर्माणसँगै साहसिक यात्रालाई प्रवर्द्धन गर्दै आएको छ। अल्फा अटोमोटिभले महिला राइडरको सहभागिता बढाउने, सुरक्षित तथा जिम्मेवार राइडिङ संस्कृतिको विकास गर्ने र रोयल इन्फिल्डको राइडिङ समुदायलाई विस्तार गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।




