नेपाल प्रिमियर लिग (एनपीएल)  जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके

काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल)  जनकपुर बोल्ट्सले मुख्य प्रशिक्षकमा पुबुदु दशानायकेलाई नियुक्त गरेको छ  । श्रीलंकाली मूलका क्यानेडियन प्रशिक्षक पुबुदु नेपाली राष्ट्रिय टोलीको पूर्व मुख्य प्रशिक्षकसमेत हुन् ।

पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए । त्यस समयमा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको थियो भने सन् २०१४ मा वंगलादेशमा आयोजित टी–२० विश्वकपमा ऐतिहासिक छनौट भएको थियो ।

उनले दुई पटक नेपाली राष्ट्रिय टोली सम्हालेका थिए । पछिल्लो समय उनले नेपाली राष्ट्रिय टोली सम्हाल्दा नेपाली टिम विभाजित अवस्थामा थियो । त्यो अवस्थामा उनले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएर क्यानडा फर्किएका थिए ।

क्यानडा फर्किने क्रममा उनले नेपाली क्रिकेटको परिस्थिति फेरिएमा र आफूले खुलेर काम गर्न पाएमा फेरि नेपाल फर्किने बताएका थिए ।

नेपालले पहिलो पटक विश्वकप खेलेपछि क्यान र खेलाडीको आन्तरिक कलहका कारण दासानायके नेपाल छाडेर गएका थिए । त्यसपछि उनले अमेरिकाको प्रशिक्षकको रुपमा पनि काम गरे । त्यसपछि उनी एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा भैरहवा ग्लाडिएटर्सको प्रशिक्षक बनेर नेपाल आएका थिए ।

अब उनले नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने एनपीएलमा जनकपुर बोल्ट्सका खेलाडीलाई प्रशिक्षण दिने छन् । एनपीएल आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार