काठमाडौं । नेपाल महिला चेम्बरले महिला उद्यमी तथा व्यवसायीका उत्पादनको बजारीकरण, प्रवद्र्धन र व्यापार विस्तार गर्ने उद्देश्यले आगामी असोज १७ गते शनिबारदेखि चेम्बर अफ कमर्सको भवन, जमलमा ‘चेम्बर बजार’ सञ्चालन गर्ने भएको छ । बजारमा खाद्यान्न लगायत लत्ताकपडा, हस्तकलाका सामाग्री आदी बिक्रीको लागि राखिने छ । मेलामा साल्ट ट्रेडिङ्ग लगायतका स्टलहरु रहनेछन् ।
चेम्बर बजारमा महिला उद्यमीका उत्पादनसँगै आयात निर्यातजन्य वस्तुहरूको समेत प्रवद्र्धन तथा बजारीकरण गरिनेछ । उद्यम गरिरहेका र उद्यम गर्न इच्छुक महिलालाई व्यवसायमा आकर्षित गर्न सरकारी प्रक्रिया तथा व्यवसाय सञ्चालनसम्बन्धी अभिमुखीकरण, सीप तथा भोकेशनल तालिम, महिला स्वास्थ्यसम्बन्धी सचेतना तथा निःशुल्क स्वास्थ्य परीक्षणजस्ता कार्यक्रम पनि सञ्चालन गरिने नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले जानकारी दिईन् ।
चाडबाडलाई लक्षित गरी शनिवार र आईतबार बजार लाग्ने र चाडबाड पश्चात पनि शनिवार मेला संचालनमा रहने उनले जनाईन् । चेम्बर बजारलाई केवल व्यापारिक मेला नभई महिलाको आर्थिक सशक्तीकरण, सीप विकास, बजार पहुँच र व्यवसायिक क्षमता अभिवृद्धिको निरन्तर अभियानका रूपमा अघि बढाइने नेपाल महिला चेम्बरकी सचिव ईरा प्रसाईले बताईन् ।
यस मेला नेपाल युथ चेम्बरसँगको सहकार्य सहयोगमा संचालनमा आउन लागेको हो । महिला उद्यमीलाई आफ्नो उत्पादनको बजार विस्तार गर्न अवसर प्रदान गर्नुका साथै प्रत्येक महिलालाई व्यवसायप्रति प्रेरित र सक्षम बनाउने मुख्य लक्ष्य रहेको नेपाल महिला चेम्बरले जनाएको छ ।



