काठमाडौं । त्रिकोणात्मक महिला टि ट्वान्टी आई सिरिजमा नेपालले नेदरल्याण्ड्ससँग लज्जास्पद हार व्यहोरेको छ । नेपालले प्रस्तुत गरेको १४६ रनको लक्ष्य नेदरल्याण्ड्सले बिना विकेटको क्षतिमा १९.४ ओभरमा १५१ रन बनाउँदै पुरा गरेको हो ।
नेदरल्याण्ड्सका ओपनरले उत्कृष्ट पारी खेल्दा नेपाल सिरिजमा लागातार पाँचौं खेलमा जित विहिन हुन पुग्यो ।
नेदरल्याण्ड्सलाई जित दिलाउन स्टेर कालिसले ९८ रन र फेबे मोल्केनबोयरले ४८ रनको अविजित पारी खेले । नेपालले सात बलर प्रयोग गरे पनि कसैले पनि विकेट लिन सकेनन् ।
यस अघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४५ रन बनाएको थियो ।
नेपाललाई सम्माजन स्कोरसम्म पुर्याउन यू १९ की कप्तान पूजा महतोको अर्धसतकीय पारी खेलेकी थिइन् । सात रन बनाउँदा दुई विकेट गुमेको अवस्थामा ब्याटिङ गर्न आएकी पूजाले अविजित रहँदै ६२ रन बनाइन् । ५१ बलको सामना गरेकी पूजाले आफ्नो पारीमा ५ चौका प्रहार गरिन् ।
नेपालका लागि सम्मानजक स्कोरसम्म पुर्याउन कप्तान इन्दु वर्मा र पुजा महतोले ७८ रनको साझेदारी गरे ।
कप्तान इन्दु वर्माले ३९ रन बनाइन् । ३७ बलको सामना गरेकी इन्दुले आफ्नो पारीमा ५ चौका प्रहार गरिन् । सम्झना खड्काले ६ रन, ममता चौधरीले १ रन, रुविना क्षत्रीले २० र कविता जोशीले ७ रन बनाए ।
नेदरल्याण्ड्सको तर्फबाट आरिस विलिङले २ विकेट, क्यारोलिन डे लैङ र हेदर सिजर्सले समान १/१ विकेट लिए ।