काठमाडौं । त्रिकोणात्मक महिला टी–२० आई सिरिजमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भएको छ ।
८२ रनको लक्ष्य थाइल्याण्डले तीन विकेटको क्षतिमा १७ ओभरमा पुरा गर्यो । नेपाल माथि सहज जित हात पार्ने क्रममा थाइल्याण्डकी कप्तान नारुएमोल चाइवाईले अविजित रहँदै सर्वाधिक २७ रन जोडिन् । यस्तै नन्नपत कोन्चरोएनकाईले २३ रन, नटय बुचथमले ११ रन बनाइन् ।
नेपालका लागि कप्तान इन्दु वर्माले २ र पूजा महतोले १ विकेट लिए ।
यस अघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८१ रन मात्र बनाउन सकेको थियो ।
सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन् । इन्दु वर्मा १० रन, कविता जोशीले १४ र डेब्यू गरेकी राजमती एैरीले ११ रन बनाए । बाँकी ब्याटर चल्न नसक्दा नेपाल सामान्य योगफलमा सिमित हुन पुग्यो ।
नेपाललाई सस्तोमा रोक्न थाइल्याण्डकी ओनिचा कामचोम्फुले ४ ओभरमा १५ रन खर्चिएर ३ विकेट लिइन् । यस्तै चनिदा सुथिरुङ, सुलेपोर्न लाओमी र नटय बुचथमले समान १÷१ विकेट चट्काए । नेपालका एक ब्याटर रन आउट भएकी थिइन् ।
सिरिजमा आयोजक नेपाल सहित थाइल्याण्ड र नेदरल्याण्ड्सले सहभागिता जनाएका थिए । सबै टिमले एक अर्का सँग तीन/तीन खेल खेलका थिए । थाइल्याण्डले कुल ५ खेल जित्दा नेदरल्याण्ड्सले चार खेल जितेको थियो भने नेपाल जितविहिन रहन पुग्यो ।