CLI

एटीएमबाट पैसा झिक्दा समस्या आए के गर्ने ?

काठमाडौं । आजको युग डिजिटल प्रविधिको हो । नगद कारोबारलाई सजिलो र छरितो बनाउने लक्ष्यसाथ बैंक तथा वित्तीय संस्थाहरूले एटीएम सेवा विस्तार गरेका छन् । बिहान बेलुका, साँझ रात, जुनसुकै समयमा पनि नगद निकाल्न सकिने यो सेवा धेरैका लागि सहज बनेको छ ।

तर, प्रविधि जति सहज देखिन्छ, कहिलेकाहीँ त्यत्तिकै झन्झटिलो पनि बनिदिन सक्छ ।

एटीएमबाट पैसा झिक्ने क्रममा कार्ड अड्किनु, पैसा कट्नु तर नआउनु, ट्रान्सेक्सन फेल देखिनु वा मेसिनमा कुनै प्राविधिक गडबडी आउनुजस्ता समस्याहरू धेरैले भोग्नु परेकै छ । यसले प्रयोगकर्तालाई मानसिक तनाव, आर्थिक अप्ठ्यारो र समयमा काम नहुनेजस्ता समस्या उत्पन्न गराउँछ ।

तर एटीएम सेवाले सहज जस्तै बैंकहरुले त्यहाँ उत्पन्न हुने समस्याका सामाधानका लागि पनि व्यवस्था गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूलाई एटीएमको कारोबारसम्बन्धी तत्काल सहायता आवश्यक परेमा, आफ्नो एटीएम रहेको स्थानमा सम्बन्धित कर्मचारीको नाम, सम्पर्क नम्बर तथा संस्थाको नाम, ठेगाना र टेलिफोन नम्बर नेपाली तथा अंग्रेजी दुवै भाषामा स्पष्ट रूपमा राख्नुपर्ने व्यवस्था रहेको छ ।

तसर्थ, वित्तीय ग्राहकहरूलाई एटीएमसम्बन्धी कारोबारमा केही समस्या भएमा एटीएम रहेको स्थानमा लेखिएको सम्पर्क नम्बरमा सम्पर्क गरी आफ्नो समस्याको जानकारी गराई समस्या समाधानको प्रक्रियामा जान सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

साथै, बैंक वित्तीय संस्थाले आफ्नो एटीएममा केही प्राविधिक समस्या आई सञ्चालन हुन नसकेमा सोको जानकारी तुरून्तै सम्बन्धित एटीएम सञ्चालन गर्ने संस्थामा तथा आवश्यक परेमा कार्ड जारी गर्ने संस्थामा समेत पुऱ्याउने व्यवस्था गर्नुपर्ने प्रावधान समेत रहेको छ ।

नेपाली कार्ड प्रयोग गर्दा समस्या भएमा सम्बन्धित सेवा प्रदायकलाई तत्कालै जानकारी गराउन केन्द्रीय बैंकको वित्तीय समावेशी तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार