काठमाडौं । लगानी बोर्ड नेपालले मुक्तिनाथ केवलकार परियोजनासहित विभिन्न महत्त्वपूर्ण पूर्वाधार तथा ऊर्जा परियोजनाहरूको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री एवं बोर्ड अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ६४औँ बैठकले यी निर्णयहरू पारित गरेको हो।
बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी/नयाँ पुल)देखि मुस्ताङको मुक्तिनाथसम्म सातवटा स्टेशनसहित निर्माण गरिने ८१.०४१ किलोमिटर लामो केवलकार परियोजनालाई लगानी स्वीकृति दिएको छ। अनुमानित लागत ५७ अर्ब ६४ करोड ३७ लाख रुपैयाँ रहेको उक्त परियोजना निर्माण, स्वामित्व, सञ्चालन र अन्ततः सरकारलाई हस्तान्तरण (बुट—बिल्ड, ओपरेट, ट्रान्सफर) मोडलमा अगाडि बढाइनेछ। परियोजना ‘मुक्तिनाथ दर्शन प्रालि’ द्वारा कार्यान्वयन हुने प्रस्ताव छ।
परियोजनालाई अगाडि बढाउन बोर्डले प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। उक्त केवलकार सञ्चालनमा आएपछि मुक्तिनाथ क्षेत्रको धार्मिक पर्यटनमा उल्लेखनीय वृद्धि हुने र स्थानीयस्तरमा रोजगारी सृजनामा टेवा पुग्ने अपेक्षा गरिएको छ।
बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) थप अध्ययन गर्ने निर्णय पनि गरेको छ। करिब १६० अर्ब रुपैयाँको लागतमा निर्माण हुने उक्त आयोजना राष्ट्रिय ऊर्जा सुरक्षाको दृष्टिले महत्त्वपूर्ण मानिएको छ।
त्यस्तै, ४३.२ मेगावाटको छिलुुङ खोला, २१६ मेगावाटको बझाङ माथिल्लो सेती र ४४ मेगावाटको बकान खोला जलविद्युत् आयोजनाहरूका लागि समेत लगानी स्वीकृत गरिएको छ।
रेलमार्ग क्षेत्रको सम्भाव्यता अध्ययन गर्न बोर्डले दक्षिण कोरियाको ‘कोरेल’ संस्थासँग सहकार्यका लागि तयार गरिएको सम्झौताको मस्यौदालाई मन्त्रिपरिषद्बाट स्वीकृति लिने निर्णय गरेको छ। यसले नेपालको रेल पूर्वाधार विकासमा नयाँ ढोका खोल्ने विश्वास गरिएको छ।
बैठकले जनकपुरमा रिफाइन खानेतेल उद्योग स्थापना र विभिन्न स्थानहरूमा सूचना प्रविधि (आईटी) पार्क स्थापना सम्बन्धी प्राप्त प्रस्तावहरूलाई पनि प्रक्रियागत रूपमा अघि बढाउने निर्णय गरेको छ।

