काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड आज दुई घण्टा बन्द हुने भएको छ ।
भरतपुर डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द हुने जानकारी दिएका हुन् ।
तुइन खोलामा बेलाबेलामा पहिरो गएर बाटो थुनिने गरेको छ । पहिरोको जोखिम ल्याउन सक्ने ठूला ढुंगा हटाउनका लागि सडक बन्द गर्न लागिएको हो । हेटौंडाबाट लामो एक्स्काभेटर ल्याएर अड्केका ढुंगा झार्न लागेको उनले बताए ।
असार ३ गते सुक्खा पहिरो खस्दा दिउँसो ४ घण्टाभन्दा बढी सडक अवरुद्ध भएको थियो । साना ढुंगा खसेर गाडीमा क्षति समेत पुगेको थियो ।
बाटो खुलेपछि पनि लेनअनुसार गाडी चलाएर सहयोग गर्न डिभिजन सडक कार्यालयले अपिल गरेको छ ।

