काठमाडौं । सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले भदौ महिनामा समग्र १ अर्ब ४३ करोड रुपैयाँ घाटा व्यहोरेका छन् । चालु आर्थिक वर्षको साउन महिनामा फन्डहरुले समग्रमा ७ करोड ३० लाख रुपैयाँ नाफा कमाएका थिए । सेयर बजार घटेसँगै यी फन्डहरुको नाफामा पनि गिरावट आएको हो ।
फन्डको लगानीको ठूलो हिस्सा सेयर बजारमा रहेको हुन्छ । त्यसैले बजारमा उतरचढाव आउँदा नाफा पनि तलमाथि हुन्छ । यता, ५१ मध्ये ८ वटाले मात्र नाफा कमाएका हुन् । बाँकी सबै घाटामा छन् । रिपोर्ट अनुसार भदौ महिनामा फन्डहरुको सेयर बजारमा ४९ अर्ब ९६ करोड ८७ लाख रुपैयाँ लगानी रहेको देखिएको छ । यो साउनको भन्दा ०.४६ प्रतिशत धेरै हो ।
कुन म्युचुअल फन्डको कति लगानी ?
सञ्चालनमा रहेका सामूहिक लगानी कोषमध्ये सेयर बजारमा सबैभन्दा धेरै लगानी एनआइबीएल सहभागिता फन्डको रहेको छ । भदौ महिनामा यसको सूचीकृत कम्पनीको सेयरमा ६ अर्ब १३ करोड भन्दा धेरैको लगानी रहेको छ । गएको साउनमा ६ अर्ब रुपैयाँ लगानी थियो । एनएमबि सरल बचतको ३ अर्ब ३२ करोड लगानी रहेको छ ।
२० वटा फन्डहरुको लगानी १ अर्ब भन्दा धेरै छ । समग्रमा म्युचुअल फन्डहरुले ४९ अर्ब ९६ करोड रुपैयाँ सेयर बजारमा लगानी गरेका छन् । यो अघिल्लो महिनाको भन्दा ०.४६ प्रतिशत धेरै हो ।


न्याभ
प्रभु स्मार्ट फन्डको न्याभ सबैभन्दा धेरै १२.०७ रुपैयाँ छ । त्यस्तै, प्रभु सेलेक्ट फन्डको न्याभ ११.७७ रुपैयाँ छ । ५१ मध्ये ६ वटाको न्याभ ११ रुपैयाँ भन्दा धेरै छ । यता, १९ वटाको उक्त भ्याल्यू १० रुपैयाँ भन्दा कम देखिएको छ ।

नाफा
सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले भदौ महिनामा १ अर्ब ४३ करोड रुपैयाँ घाटा व्यहोरेका छन् । अघिल्लो महिना यिनीहरुले ७ करोड ६३ लाख नाफा आर्जन गरेका थिए । ५१ मध्ये ८ वटाले मात्र नाफा आर्जन गरेका छन् ।



