CLI

एसवाई प्यानलको आइपीओमा आवेदन दिनुअघि कस्तो छ कम्पनी ? हेरौं

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले बुधबार, कात्तिक १९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात अब सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात्, ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये, कम्पनीले पहिलो चरणमा २ लाख ६१ हजार ६२९ कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र ४ लाख ९७ हजार ९२ कित्ता साधारण सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

त्यस्तै, कम्पनीले आफ्ना कर्मचारीहरुका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरुका लागि २ लाख ४८ हजार ५४६ कित्ता सेयर सुरक्षित गरेको छ । अब भने कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँबराबरको ४० लाख ७६ हजार १५६ कित्ता सेयर निष्कासन गर्न लागेको हो । निष्कासन बन्द छिटोमा कात्तिक २३ गते हुनेछ भने ढिलोमा मंसिर ३ गते हुनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

कस्तो छ रेटिङको अवस्था ?

आइपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग बीबी’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कति कित्ताका लागि दिने आवेदन ?

एसवाई प्यानल नेपाल लिमिटेडको पाउन लगानीकर्ताले भाग्यकै भर पर्नुपर्ने देखिएको छ । कम्पनीले सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता मात्र सेयर निष्कासन गरेको छ । यसआधारमा एसवाई प्यानल नेपालको आइपीओ न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा ४ लाख ७ हजार १५ जनाले मात्र सेयर हात पार्नेछन् ।

यसआधारमा हेर्ने हो भने यो आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यद्दपि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

आयोजना सम्बन्धी विवरण

एसवाई प्यानल नेपाल लिमिटेडले कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित भएको हो । संस्थाको रजिष्टर्ड कार्यालयको ठेगाना काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं. ३२, तिनकुनेमा रहेको छ । यस कम्पनीको उद्योग कार्यालय रत्ननगर नगरपालिका, वडा नं. १४, चितवनमा रहेको छ ।

देशभर एसवाई प्यानलका करिब ५० भन्दा बढी सक्रिय डिलरहरु मार्फत कम्पनीले उत्पादन गरेको वस्तु बिक्री वितरण भई रहेको छ । एसवाई प्यानल नेपाल लिमिटेड प्यानल निर्माण कम्पनी हो । यो दक्षिण कोरियास्थित एसवाई कम्पनी लिमिटेडको सहायक कम्पनी हो । कम्पनीले उच्च गुणस्तरका इपीएस र पीयूएफ स्यान्डविच प्यानलहरु उत्पादन गर्छ । यी प्यानलहरु बुद्धिमानीपूर्ण र नवीन निर्माण समाधानका लागि उपयुक्त छन् ।

कम्पनीका उत्पादनहरु किफायती, बलियो,  ऊर्जा-सक्षम र अत्यधिक गर्मी वा चिसो मौसमका लागि उत्कृष्ट इन्सुलेशन गुण भएको जनाइएको छ । कम्पनीले कोरियन स्यान्डविच प्यानल, यूपीभीसी झ्याल, स्टिल ढोका लगायतका प्यानल निर्माणमा आवश्यक अन्य सामग्रीहरु पनि उपलब्ध गर्दै आएको छ  ।

पुँजी संरचना र वित्तीय प्रक्षेपण

कम्पनीको अधिकृत पुँजी र जारी पुँजी १ अर्ब ३० करोड ८१ लाख ३६ हजार रुपैयाँ रहेको छ । यसको हालको चुक्ता पुँजी ७८ करोड ४८ लाख ८२ हजार रुपैयाँ रहेको छ । कम्पनीले आर्थिक वर्ष २०८४–८५ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन । उक्त आवसम्म आइपीओ बिक्रीपछि कायम हुने १ अर्ब ३० करोड ८१ लाख रुपैयाँ पुँजी नै यथावत् रहनेछ । आइपीओ निष्कासनपछि संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशत र सर्वसाधारण समूहको हिस्सा ४० प्रतिशत रहनेछ ।

चालु आर्थिक वर्षको अन्त्यसम्म १० करोड ८४ लाख रुपैयाँ नाफा कमाउने वित्तीय प्रक्षेपणमा उल्लेख गरेको छ । त्यस्तै, २०८३—८४ मा १३ करोड ७१ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी ९.२१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११७.४६ रुपैयाँ पुग्ने प्रक्षेपण छ । आर्थिक वर्ष २०८३–८४ सम्ममा प्रतिसेयर आम्दानी १०.४३ रुपैयाँ पुग्ने र प्रतिसेयर नेटवर्थ १२७.८० रुपैयाँ पुग्ने प्रक्षेपण छ । 

आइपीओ जारी गर्नुको उद्देश्य :

व्यवसाय विस्तारः आइपीओबाट प्राप्त पुँजीबाट कम्पनीले आफ्नो मुख्य कम्पनीसँगको सहकार्यमा नयाँ युपिभिसि उद्योगको स्थापना गरी युपिभिसि प्रोफाइल उत्पादन गर्न सहयोग गर्नेछ । जसले ठूलो आयातमुखी बजारलाई स्वदेशी विकल्प प्रदान गर्नेछ ।

सर्वसाधारण सेयरधनीको प्रतिनिधित्वः सर्वसाधारणको लागि सेयर जारी गरी संगठित संस्थामा  प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य राखिएको छ, जसले समावेशिता र साझेदारीलाई प्रवर्द्धन गर्ने कम्पनीले जनाएको छ ।

वृद्धि दर प्रवर्द्धनः बलियो पुँजी आधारका साथ, कम्पनीले आफ्नो वृद्धि दरलाई तीव्र बनाउन चाहन्छ, उच्च गुणस्तरका प्यानल बजारमा उपलब्ध गराउँदै नेपालको प्यानल उद्योगमा योगदान गर्ने लक्ष्य राखेको छ । यस रणनीतिक कदमले कम्पनीको वित्तीय आधार बलियो बनाउनुका साथै, पारदर्शिता र समावेशिताको साथ दीर्घकालीन वृद्धिको दृष्टिकोणलाई समर्थन गर्ने जनाएको  छ ।

वित्तीय अवस्था

गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित नाफा १२ करोड १० लाख रुपैयाँ रहेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११५.४२ रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०८२-८३ को अन्त्यसम्ममा कम्पनीको सञ्चित नाफा २२ करोड ८३ लाख रुपैयाँ पुग्ने पक्षेपण छ । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११७.४६ रुपैयाँ र प्रतिसेयर आम्दानी ९.२१ रुपैयाँ पुग्ने अनुमान छ ।

Leave Your Comment

Related News