४ बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ भन्दा धेरै, लाभांश क्षमता ४२ प्रतिशतसम्म, कुनको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ३ महिना अर्थात, असोजसम्म १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १८.७८ प्रतिशत कम हो । गत वर्षको असोजसम्म बैंकहरुले १६ अर्ब १८ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

बैंकहरुले ३ महिनामा ४९ अर्ब १७ करोड भन्दा धेरै खुद ब्याज आम्दानी गरेका छन् । यो गत वर्षको भन्दा ५.६४ प्रतिशत धेरै हो । ब्याज आम्दानी बढेपनि बैंकहरुको इम्पेयरमेन्ट चार्ज पनि बढेको छ । त्यसैले नाफामा केही दबाब परेको छ ।

यता, २० वटा बैंकहरुको चुक्ता पुँजी ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ छ । जगेडा कोषमा ३ खर्ब ६० अर्ब रुपैयाँ जम्मा छ । तथ्यांक अनुसार बैंकहरुको औसत प्रतिसेयर आम्दानी १४.१० रुपैयाँ छ । यता, ७ वटा बैंकहरुको लाभांश वितरण क्षमता ऋणात्मक छ ।

खराब कर्जामा देखिएको वृद्धिका कारण बैंकहरुले थुप्रै रकम प्रभोजनका लागि छुट्याएका छन् । आम्दानीको ठूलो हिस्सा इम्पेयरमेन्ट चार्जका लागि छुट्याउनु पर्दा नाफामा दबाब परेको हो ।

कुन बैंकको पुँजी र जगेडा कोषको अवस्था कस्तो ?

असोजसम्म आइपुग्दा ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै चुक्ता पुँजी रहेको छ । यसको पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ भन्दा धेरै छ । त्यसपछि, नेपाल इन्भेष्टमेन्ट बैंकको पुँजी ३४ अर्ब १२ करोड, नबिलको २७ अर्ब ५ करोड, कुमारी बैंकको २६ अर्ब २२ करोड ५८ लाख, प्रभुको २३ अर्ब ५४ करोड २४ लाख, हिमालयन बैंकको भने २२ अर्ब ५८ करोड रुपैयाँ बराबरको चुक्ताँ पुँजी छ । अरु बाँकी बैंकहरुको पुँजी २० अर्ब भन्दा कम छ ।

त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकको जगेडा कोषमा ३८ अर्ब १६ करोड रुपैयाँ जम्मा छ । नबिल बैंकको ३२ अर्ब ४३ करोड र नेपाल इन्भेष्टमेन्ट मेगाको ३३ अर्ब ८९ करोड रुपैयाँ बराबरको जगेडा कोष रहेको छ ।

खुद ब्याज आम्दानी कसको कति ?

चालु आर्थिक वर्षको ३ महिनामा सबैभन्दा धेरै खुद ब्याज आम्दानी गर्नेमा ग्लोबल आइएमई बैंक अगाडि रहेको छ । यसले ३ महिनामा ४ अर्ब १३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । नबिल बैंकले ३ अर्ब ९० करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले ३ अर्ब २४ करोड ब्याज आम्दानी गरेको छ । सबै बैंकहरुले १ अर्ब भन्दा धेरै खुद ब्याज आम्दानी गरेका छन् । समग्रमा बैंकहरुले असोजसम्म करोड ५० अर्ब रुपैयाँ ब्याज आम्दानी गरेका छन् ।

नाफा कसको कति ?

ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । नबिलले १ अर्ब ७५ करोड ६९ लाख, प्राइमले १ अर्ब २५ करोड, एभरेष्टले १ अर्ब १७ करोड र कुमारी बैंकले १ अर्ब ५ करोड नाफा कमाएको छ । सिटिजन्स बैंकले भने २२ करोड रुपैयाँ बराबरको खुद घाटा व्यहोरेको छ । समग्रमा बैंकहरुले १३ अर्ब १४ करोड नाफा कमाएका छन् ।

प्रतिसेयर आम्दानी

एभरेष्ट बैंकको प्रतिसेयर आम्दानी ३६.४४ रुपैयाँ रहेको छ । यो गत वर्षको भन्दा १.५९ रुपैयाँ धेरै हो । स्टान्डर्ड चार्टर्डको २७.५७ रुपैयाँ, प्राइमको २५.९४, नबिलको २५.४९ रुपैयाँ ‘इपीएस’ छ ।

लाभांश वितरण क्षमता कसको कति ?

एभरेष्ट बैंकको लाभांश वितरण क्षमता ४२.४५ प्रतिशत छ । स्टान्डर्ड चार्टर्डको ३६.४ प्रतिशत, नबिलको ३०.१५ प्रतिशत लाभांश वितरण क्षमता छ । २० वटा बैंकहरुमध्ये ७ वटाको लाभांश वितरण क्षमता ऋणात्मक छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार