हाइड्रोपावर कम्पनीहरुको नाफामा सुधार, विद्युत बिक्रीबाट हुने आम्दानी पनि बढ्यो

काठमाडौं । हाइड्रोपावर कम्पनीहरुको नाफामा सुधार देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको रिपोर्ट सार्वजनिक गर्ने २३ वटा हाइड्रोपावरले २ अर्ब ११ करोड नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ६८.३८ प्रतिशत धेरै हो । गत वर्षको पहिलो त्रैमासमा यी कम्पनीहरुले समग्रमा १ अर्ब २५ करोड नाफा कमाएका थिए ।

२३ कम्पनीहरुको विद्युत बिक्रीबाट हुने आम्दानी समग्रमा ४ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । गत वर्ष उक्त आम्दानी ३ अर्ब ८७ करोड थियो । विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै नाफामा पनि सुधार देखिएको हो । त्यसका साथै, बैंकहरुको ब्याजदर घट्दा हाइड्रोपावरहरुको वित्तीय खर्च पनि घटेको छ । त्यसले गर्दा पनि नाफामा सुधार देखिएको छ ।

चुक्ता पुँजी र जगेडा कोष

रिपोर्ट सार्वजनिक गर्ने २३ कम्पनीमध्ये अपि पावरको चुक्ता पुँजी सबैभन्दा धेरै ६ अर्ब ७ करोड रुपैयाँ बराबर रहेको छ । त्यसैगरी, साहस उर्जाको ३ अर्ब ७८ करोड, सान्जेन जलविद्युतको ३ अर्ब ६५ करोड र सानिमा मिडल तमोरको ३ अर्ब ३३ करोड रुपैयाँ चुक्ता पुँजी छ ।

यता, साहस उर्जाको जगेडा कोषमा सबैभन्दा धेरै ३ अर्ब ६५ करोड ६९ लाख रुपैयाँ जम्मा रहेको छ । राधी विद्युतको ९७ करोड ५१ लाख, अपि पावरको ८९ करोड ५७ लाख, सानिमा मिडल तमोरको भने ५४ करोड ३५ लाख रुपैयाँ जगेडा कोषमा जम्मा छ ।

विद्युत बिक्रीबाट हुने आम्दानी कसको कति ?

साहस उर्जाले ३ महिनामा ९२ करोड ४६ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ६.६३ प्रतिशत धेरै हो । गत वर्षको असोजसम्म यस कम्पनीले ८६ करोड ७१ लाख रुपैयाँ विद्यतु बिक्रीबाट आम्दानी गरेको थियो । रिपोर्ट सार्वजनिक गर्ने २३ कम्पनीले ३ महिनामा समग्रमा ४ अर्ब ६२ करोड रुपैयाँ रुपैयाँ बराबरको विद्युत बिक्री गरेका छन् ।

नाफा कसको कति ?

साहस उर्जाले असोजसम्म ४९ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २३.६६ प्रतिशत धेरै हो । २३ कम्पनीमध्ये मोदी इनर्जीले घाटा व्यहोरेको छ । समग्रमा हाइड्रोपावर कम्पनीहरुले २ अर्ब ११ करोड नाफा कमाएका छन् ।

प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ

राधी विद्युतको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै रहेको छ । यसको उक्त आम्दानी ६०.५८ रुपैयाँ छ । साहसको ५२.३७ रुपैयाँ प्रतिसेयर आम्दानी छ । ६ वटाको इपीएस २० भन्दा धेरै छ । त्यसैगरी, साहस उर्जाको प्रतिसेयर नेटवर्थ १९६.८९ रुपैयाँ छ । ११ वटा कम्पनीको नेटवर्थ १०० भन्दा कम छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार