काठमाडौं । जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा २.५१ प्रतिशत धेरै हो । गत वर्ष यी कम्पनीहरुले १ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएका थिए । जीवन बिमाहरुले समग्रमा ४८ अर्ब ७९ करोड ९३ लाख रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेका छन् ।
यो गत वर्षको भन्दा १२.२५ प्रतिशत धेरै हो । गत वर्ष कम्पनीहरुले ४३ अर्ब ४७ करोड रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेका थिए । बिमा शुल्क संकलनमा आएको वृद्धि र लगानी तथा कर्जाबाट हुने आम्दानी बढेको कारण नाफामा सुधार आएको हो । सञ्चालनमा रहेका जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी ६९ अर्ब ५१ करोड २० लाख रहेको छ भने सञ्चित कोषमा १६ अर्ब २३ करोड रुपैयाँ जम्मा छ ।
चुक्ता पुँजी र रिटेन्ड अर्निङ कसको कति ?
जीवन बिमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी हिमालयन लाइफ रहेको छ । यसको ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ बराबरको पुँजी रहेको छ । त्यस्तै, नेपाल लाइफको ९ अर्ब २ करोड, लाइफ इन्सुरेन्सको ५ अर्ब ५० करोड, नेसनल लाइफको ५ अर्ब ४७ करोड रुपैयाँको चुक्ता पुँजी छ । सग्रमा १४ वटा बिमा कम्पनीहरुको ६९ अर्ब ५१ करोड रुपैयाँ बराबरको पुँजी छ ।
यता, रिटेन्ड अर्निङ भने लाइफ इन्सुरेन्स कर्पोरेसनको धेरै छ । यसको ३ अर्ब ९ करोड रुपैयाँ बराबरको सञ्चित कोष छ । समग्रमा जीवन बिमाहरुको १६ अर्ब २३ करोड रुपैयाँ बराबरको सञ्चति छ ।
बिमा शुल्क संकलन कसको धेरै ?
१४ वटा बिमा कम्पनीहरुले ३ महिनामा ४८ अर्ब ७९ करोड बिमा शुल्क संकलन गरेका छन् । यो गत वर्षको भन्दा १२.२५ प्रतिशत धेरै हो। बिमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ अगाडि छ । यसले असोजसम्म १३ अर्ब ३६ करोड रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेको छ ।
नाफा कसको कति ?
सबैभन्दा धेरै नाफा गर्नेमा रिलायबल नेपाल लाइफ इन्सुरेन्स परेको छ । यसले ३ महिनामा २५ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ । सन नेपालले २३ करोड ९२ लाख नाफा आर्जन गरेको छ । समग्रमा बिमाहरुले १ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएका छन् ।
प्रतिसेयर आम्दानी
रिलायबल नेपालको प्रतिसेयर आम्दानी १९.९० रुपैयाँ रहेको छ । सन नेपालको १८.९५ रुपैयाँ छ । १४ मध्ये ७ वटाको इपीएस १० भन्दा धेरै छ ।


