काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ४४ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयरधितो कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२\८३ को असोजसम्म बैंक तथा वित्त कम्पनीहरुबाट १ खर्ब ४४ अर्ब ९५ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ । गत आवको तुलनामा यो रकम ३६.९७ प्रतिशत अर्थात, ३९ अर्ब १२ करोड ५० लाख रुपैयँले बढी हो । गत वर्षको सोही अवधिमा संस्थाहरुले १ खर्ब ५ अर्ब ८२ करोड ५० लाख कर्जा प्रवाह गरेका थिए ।
यता, वाणिज्य बैंकहरुले मात्र असोजसम्म १ खर्ब २१ अर्ब ५८ करोड ३० लाख सेयर धितो कर्जा प्रवाह गरेका छन् । यो रकम गत आवको तुलनामा ४४.३९ प्रतिशत अर्थात, ३७ अर्ब ३७ करोड ३० लाख रुपैयाँ बढी हो । गत वर्षको असोजसम्म बैंकहरुले ८४ अर्ब २१ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
२० वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै नबिल बैंकले सेयर कर्जा प्रवाह गरेको छ । नबिलले १६ अर्ब २६ करोड ९० लाख कर्जा प्रवाह गरेको हो । यो रकम गत आवको तुलनामा ४८.३९ प्रतिशत अर्थात, ५ अर्ब ३० करोड ५० लाख रुपैयाँले बढो हो । त्यस्तै दोस्रोमा, ग्लोबल आइएमई बैंकको उक्त कर्जा प्रवाह १७ प्रतिशत अर्थात, १ अर्ब ८२ करोड ६० लाखले बढेको छ । यसले १२ अर्ब ५६ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
गत वर्षको सोही अवधिमा बैंकले १० अर्ब ७३ करोड ९० लाख रुपैयाँ लगानी गरेको थियो । कुमारी बैंकले १० अर्ब ५ करोड ४५ लाख, प्राइम कमर्सियलले ९ अर्ब ८० करोड, सिद्धार्थले ८ अर्ब ९५ करोड, लक्ष्मी सनराइजले ७ अर्ब ७९ करोड, नेपाल बैंकले ७ अर्ब २६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
यता, २ बैंकको कर्जा प्रवाह घटेको छ । नेपाल बैंक र एनआइसी एसिया बैंकको कर्जा प्रवाह घटेको छ । एनआईसी एशिया बैंकले २ अर्ब ४७ करोड रुपैयाँले कर्जा प्रवाह गरेको छ ।


