काठमाडौं । सूचीकृत ९७ मध्ये ९२ वटा हाइड्रोपावर कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ५ अर्ब ७० करोड ८० लाख रुपैयाँ नाफा कमाएका छन् । हाइड्रोपावर कम्पनीहरुको विद्युत बिक्रीबाट हुने आम्दानी बढेको छ । त्यस्तै, बैंकको ब्याजदर घट्दा हाइड्रापावर कम्पनीहरुको वित्तीय खर्च पनि केही कम भएको छ । त्यसैले नाफामा सुधार आएको हो ।
रिपोर्ट अनुसार ९२ कम्पनीहरुको चुक्ता पुँजी १ खर्ब ७१ करोड ९२ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा समग्रमा २ अर्ब ९० करोड छ । अपर तामाकोशीको जगेडा करिब १० अर्ब रुपैयाँ ऋणात्मक छ। त्यसैले पनि समग्र हाइड्रोपावरहरुको रिजर्भ कम देखिएको हो । कम्पनीहरुले विद्युत बिक्रीबाट १६ अर्ब ३ करोड रुपैयाँ आम्दानी गरेका छन् ।
यता, असोजसम्म आइपुग्दा अपर तामाकोशीको चुक्ता पुँजी सबैभन्दा धेरै २१ अर्ब १८ करोड रुपैयाँ छ । त्यस्तै, चिलिमेको ८ अर्ब ७८ करोड, रसुवागढीको ६ अर्ब ८४ करोड, अपि पावरको ६ अर्ब ७ करोड र मध्य भोटेकोशीको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ रहेको छ । ५० कम्पनीको चुक्ता पुँजी १ अर्ब भन्दा धेरैको छ । सबैभन्दा कम पुँजी कुथेली बुखरी स्मल हाइड्रोपावरको छ ।
हाइड्रोपावर कम्पनीहरुमध्ये सबैभन्दा धेरै जगेडा कोष बुटवल पावरको छ । यसको उक्त कोषमा ३ अर्ब ७६ करोड छ । साहस उर्जाको ३ अर्ब ६६ करोड, चिलिमेको २ अर्ब ८४ करोड, सानिमा माईको २ अर्ब ६३ करोड र ङादीको २ अर्ब ६ करोड रुपैयाँ जगेडा कोषमा जम्मा छ । ४४ वटा कम्पनीको जगेडा कोष ऋणात्मक छ ।
यता, अपर तामाकोशीले विद्युत बिक्रीबाट ३ अर्ब ८५ करोड आम्दानी गरेको छ । साहसले ९२ करोड ४६ लाख, माउन्टेन इनर्जीले ६१ करोड ३५ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेका छन् । नाफा गर्नेमा पनि अपर तामाकोशी अगडि छ । यसले ३ महिनामा १ अर्ब ६७ करोड नाफा कमाएको छ ।
साहसले ४९ करोड ४८ लाख र माउन्टेन इनर्जीले ४२ करोड ३४ लाख नाफा कमाएको छ । १२ कम्पनीले भने खुद घाटा व्यहोरेका छन् । प्रतिसेयर आम्दानी माउन्टेन इनर्जीको सबैभन्दा धेरै छ ।


