त्रिवि रङ्गशालामा सुविधा र प्रविधिमा प्रभावकारी व्यवस्थापन भएको दर्शकको भनाइ

काठमाडौं ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) हेर्न पुगेका दर्शकले सुविधा र प्रविधिमा दोस्रो संस्करणको व्यवस्थापन प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन् ।

दर्शकले खाद्य स्टल, शौचालयलगायत सुविधाको भने उचित व्यवस्थापन हुन नसकेको गुनासो गरेका हुन् । रङ्गशाला १० हजार दर्शक अट्ने क्षमताको प्यारापिटसहित अन्तरराष्ट्रियस्तरको निर्माण भएको छ भने ‘फ्लडलाइट’का कारण राति पनि खेल सम्भव भएकाले एनपिएलको उत्सह थपिएको कैलालीको टीकापुरबाट खेल हेर्न आउनुभएका सुदूरपश्चिम रोयल्सका समर्थक विशाल जोशीले बताए ।

बास्न, हेर्न र दर्शनको क्षमतामा वृद्धि भए पनि चिया, पानी र शौचालयको भने उचित व्यवस्थापन हुन नसकेको उनको गुनासो छ । दर्शकले सुविधा र प्रविधिका हिसाबले दोस्रो संस्करण उच्चस्तरको भएको बताउँदै आगामी दिनमा व्यवस्थित खाद्यस्टल तथा शौचालयको सुविधा थप गर्नुपर्नेमा जोशीले जोड दिए ।

“पोहोर गेटबाट प्रवेश गर्न पनि असहज थियो । दर्शकको घुइँचो व्यवस्थापन कमजोर हुँदा, धक्का खाँदै धुलैधुलो भएर खेल हेर्ने ठाउँ खेज्नुपथ्र्यो । बस्ने स्थान चिसो हुँदा कागज ओछ्याएर बस्नुपर्ने बाध्यता थियो । यसपालि सुरुदेखि नै व्यवस्थित छ, आरामले सिटमा बसेर हेर्न पाइएको छ”, उनले भने ।

पोहोरको तुलनामा सुरक्षा व्यवस्थापन, पार्किङलगायतको व्यवस्थापन पनि सहज भएको जोशीले बताए । शौचालयको पर्याप्त व्यवस्था नहँुदा, पानी र खाजागायतका लागि खाद्यस्टल नभएकाले केही अप्ठ्यारोमा पर्ने गरेको उनले प्रतिक्रिया दिए । “पहिलो दिन त पानीको व्यवस्थासमेत थिएन, दर्शकले आवाज उठाएपछि दोस्रो दिनदेखि पानी भने पाइयो”, उनले थपे । भित्र केही सुविधासम्पन्न रेस्टुराँका स्टल रहे पनि अधिकांश दर्शकका लागि महँगो हुने उनले बताए ।

आफूले समर्थन गरेको सुदूरपश्चिमको खेल अहिलेसम्म राम्रो रहेको भन्दै उनले खुसी व्यक्त गरे । एनपिएल हेर्न सात वर्षको छोरासहित कीर्तिपुर पुग्नुभएकी शान्ति शाहले पोहोरको तुलनामा टिकट बिक्री छिट्टै भएकाले रोजेको टिमको खेल हेर्न नपाएको गुनासो गरे । पोहोर आफूले उभिएर हेर्नुपरेको सम्झदै उहाँले यस पटक भने सपरिवारले सहज रूपमा अवलोकन गर्न पाइरहेको प्रतिक्रिया दिए ।

कर्णाली एक्सका समर्थक राजेश रानाले गत वर्षजस्तो चौरको चिसोमा बसेर खेल देर्नुनपरेको बताए । रङ्गशाला अन्तरराष्ट्रियस्तरमा पुगेकाले पोहोरकोभन्दा प्रभावकारी व्यवस्थापन गरिँदा यसपटक खेल हेर्न सहज हुनुका साथै दर्शक पनि बढेका उनको भनाइ छ ।

“टिकटको मूल्य बढेको भए पनि वितरण र रङ्गशालामा प्रवेश गराउने प्रक्रियासमेत व्यवस्थस्थित छ”, उनले भने । एनपिएल हेर्नका लागि जुम्लाबाट कीर्तिपुर आउनुभएका तरुण काफ्लेले पोहोरभन्दा उत्कृष्ट व्यवस्थापन भएको प्रतिक्रिया दिए । “पोहोर यत्तिको व्यवस्था थिएन । टिकट ब्ल्याकमा बिक्री हुने र जो सुकै पनि छिर्न सक्ने अवस्था थियो । अहिले सुरक्षासहित टिकट बिक्रीवितरण पनि प्रभावकारी रूपमा भइरहेको छ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार