RE
Global College

वाणिज्य बैंकहरूमा गैरबैंकिङ सम्पत्ति ४७ अर्ब ६९ करोड नाघ्यो

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिना (भदौ) सम्मको तथ्याङ्कअनुसार, स्ट्यान्डर्ड चार्टर्ड बैंक बाहेक सञ्चालनमा रहेका १९ वटा वाणिज्य बैंकहरूमा कुल ४७ अर्ब ६९ करोड ५९ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा बैंकहरूमा ४२ अर्ब ९१ करोड रुपैयाँबराबरको मात्र यस्तो सम्पत्ति रहेको थियो, जसलाई तुलना गर्दा समीक्षा अवधिमा वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ११.१५ प्रतिशतले बढेको छ  ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा अधिकांश अर्थात् १४ वटा वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति बढेको देखिएको छ भने जम्मा ५ वटा बैंकले मात्र यस्तो सम्पत्ति घटाउन सफल भएका छन्।

वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति हिमालयन बैंकमा रहेको छ । चालु आर्थिक वर्षको भदौसम्म बैंकमा ६ अर्ब ४० करोड ९१ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको यस्तो सम्पत्ति ५ अर्ब ८४ करोड १ लाख रुपैयाँ थियो । यसअनुसार हिमालयन बैंकको गैरबैंकिङ सम्पत्ति ९.७४ प्रतिशतले बढेको छ ।गैरबैंकिङ सम्पत्तिका आधारमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक दोस्रो स्थानमा रहेको छ । समीक्षा अवधिमा बैंकमा ५ अर्ब ८६ करोड ३९ लाख रुपैयाँबराबरको यस्तो सम्पत्ति रहेको छ ।

अघिल्लो वर्षको तुलनामा बैंकको गैरबैंकिङ सम्पत्ति ५३.४३ प्रतिशतले बढेको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकमा ५ अर्ब ६७ करोड ३९ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ । यद्यपि, अघिल्लो वर्षको तुलनामा बैंकको यस्तो सम्पत्ति ६.७५ प्रतिशतले घटेको छ । राष्ट्रिय वाणिज्य बैंकमा सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति रहेको छ । चालु आर्थिक वर्षको भदौसम्म बैंकमा २७ करोड ७३ लाख रुपैयाँबराबरको यस्तो सम्पत्ति रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको गैरबैंकिङ सम्पत्ति २.९७ प्रतिशतले घटेको हो । यसैगरी, ग्लोबल आइएमई बैंकसँगै एनआईसी एसिया, नबिल, कुमारी र एभरेष्ट बैंकले पनि अघिल्लो वर्षको तुलनामा गैरबैंकिङ सम्पत्ति घटाएका छन् ।

NECO

Leave Your Comment

Related News