CLI

सात वटै प्रदेशले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं । शनिबार सात वटै प्रदेशले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छन् । संवैधानिक व्यवस्था अनुरुप सात वटा प्रदेशले शनिबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेका हुन् । संविधानले प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्रालयले शनिबार बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् ।

चालु आवका लागि सात प्रदेशले तीन खर्ब रुपैयाँ बराबरको बजेट ल्याएका थिए । चालु आवमा सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेशले ६२ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । मधेस प्रदेशले ४४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।

कोशी प्रदेशले ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँ, लुम्बिनी प्रदेशले ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँ, गण्डकी प्रदेशले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशले २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँबराबरको बजेट प्रस्तुत गरेका थिए ।

सङ्घीय सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदान प्रदेशका लागि ६० अर्ब उपलब्ध गराउने भएको छ । सशर्त अनुदान प्रदेशका लागि २५ अर्ब ८४ करोड रुपैयाँ, पूर्वाधारका आयोजना कार्यान्वयनका लागि समपूरक अनुदान छ अर्ब २० करोड रुपैयाँ उपलब्ध गराउने छ ।

 

Leave Your Comment

Related News