CLI
Global College

घाटामा रहेका हाइड्रोपावरलाई आइपीओ बिक्री गर्न दिदाँको असर देखिन थाल्यो, हालसम्म १८ कम्पनीले मात्र घोषणा गरे लाभांश

काठमाडौं । घाटामा रहेका र विद्युत उत्पादन सुरु नगरेका  हाइड्रोापवर कम्पनीहरुलाई धमाधम आइपीओ बिक्री गर्न अनुमति दिदाँको असर देखिन थालेको छ । यसको प्रभाव त्यस्ता कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताहरुलाई परेका देखिन्छ । चालु आर्थिक वर्षको पुस ७ गतेसम्म आइपुग्दा सूचीकृत १८ वटा हाइड्रोपावर कम्पनीले मात्र लाभांश घोषणा गरेका छन् । भने ३८ हाइड्रोपावर कम्पनीले लाभांश नदिने भएका छन् ।

नेप्सेका अनुसार हाल ९७ हाइड्रोपावर कम्पनीहरु  सूचीकृत छन् । आगामी दिन साधारण सभा र लाभांश सम्बन्धी प्रस्ताव गर्न  बाँकी कम्पनीहरुको पनि प्रतिफल क्षमता खासै छैन । गत वर्षको वित्तीय रिपोर्ट हेर्दा पनि धेरै कम्पनीले लाभांश नदिने सम्भावन अझै छ ।

रमेश कुमार हमालले आफ्नो कार्यकालमा ६० भन्दा धेरै कम्पनीलाई आइपीओ बिक्री गर्न अनुमति दिएका थिए । ती मध्ये केही कम्पनीको वित्तीय अवस्था निकै नाजुक थियो ।  सोही परिणामका कारण अहिले घाटामा रहेका कम्पनीहरुले लगानीकर्तालाई निरास बनाएका छन् ।

हाइड्रोपावर मात्र नभएर खराब वित्तीय सूचक भएका अरु समूहका कम्पनीहरुको अवस्था पनि उस्तै छ । यी कम्पनीहरुले सेयरधनीलाई लाभांश दिएका छैनन् । बरु लकइन खुलेपछि यस्ता कम्पनीका संस्थापकहरुले भने सेयर बिक्री गरेर बाहिरिने गरेका छन् । जसले गर्दा अहिले सोझा लगानीकर्ता  जंक स्टक किनेर (खराब वित्तीय अवस्था भएका कम्पनी) फसेका छन् ।

त्यसैले पनि केही लगानीकर्ताका समूहले भने घाटामा रहेका कम्पनीलाई आइपीओ बिक्रीको अनुमति नदिन धितोपत्र बोर्ड समक्ष अनुरोध गरेका छन् । यद्दपि, अहिले बोर्डले प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ भन्दा कम भएका कम्पनीलाई साधारण सेयर निष्कासनको अनुमति दिएको छैन । तर, केही वर्ष अघि भने जस्तो सुकै कम्पनीलाई सेयर जारी गर्न दिदाँको असर अहिले देखिन थालेको हो ।

अपरेटरले भाउ उचालेको सेयर खरिद गर्दा अहिले न त पुँजीगत लाभ प्राप्त भएको न त लाभांश । यस्तो हुँदा लगानीकर्ताले ती कम्पनीको बजार भाउ नबढेसम्म कुनै लाभ उठाउन नसक्ने अवस्था छ ।

यता, एक लगानीकर्ताका केही वर्ष अघि घाटामा रहेका कम्पनीलाई यसरी आइपीओ बिक्री गर्न दिदाँअहिले यस्तो अवस्था आएको बताउँछन् । उनले भने, ‘घाटामा रहेका कम्पनीले आइपीओ अनुमति पाउँदा अहिले लगानीकर्ताले लाभांश पाएनन् । त्यसमाथि बजारमा माग छैन आपूर्ति मात्र सृजना भयो । बजारलाई माग र आपूर्तिले सन्तुलनमा राख्ने हुँदा माग बढ्ने गतिविधि नभइरहेको बेला आपूर्ति कम गरेर भए पनि बजारको सन्तुलनमा ध्यान दिनुपर्ने थियो ।’

तर, धितोपत्र बोर्डका एक अधिकारीले प्रक्रिया पूरा गरेर आएका कम्पनीहरुलाई नियमअनुसार मात्र सार्वजनिक निष्कासन अनुमति दिएको दाबी गरे । ‘हामीले पहिला जस्तै प्रक्रिया पूरा गरेर आवेदन दिएका कम्पनीलाई सार्वजनिक निष्कासन अनुमति दिएका हौं’ उनले भने, ‘यसमा धितोपत्र बोर्डले रोक्नुपर्ने कुनै कारण छैन ।’ उनले प्रक्रिया पूरा गरेर आएका कम्पनीहरुलाई अनुमति दिनु धितोपत्र बोर्डको कर्तव्य रहेको बताउँदै यसलाई रोक्न कुनै आवश्यक नरहेको जिकिर गरे ।

हालसम्म सूचीकृत १८ वटा हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेका छन् । जसमध्ये सबैभन्दा धेरै साहस उर्जाले २२.११ प्रतिशत, माउन्टेन इनर्जीले २१.०५, भगवति हाइड्रोपावरले २० प्रतिशत, मिड सोलुले १५.७९ प्रतिशत, रु रुले १५.७९, सिक्लेसले १५.७९, सिनर्जी पावरले १०.५२ प्रतिशत, कुथेली बुकरीले १० प्रतिशत लाभांश दिएको छ । बाँकी १० कम्पनीले भने १० प्रतिशत भन्दा कम दरमा लाभांश दिएका छन् । यी १८ कम्पनीमा ४ वटाको मात्र लक इन खुल्न बाँकी छ । यसर्थ, नयाँ सूचीकृत हाइड्रोपावर कम्पनीहरुले खासै प्रतिफल दिन सकेका छैनन् ।

आइपीओ किन जारी गरिन्छ ?

आइपीओ भन्नाले कुनै निजी कम्पनीले पहिलो पटक आफ्ना सेयर सर्वसाधारणलाई बिक्रीका लागि सार्वजनिक गर्नु हो । जब कुनै कम्पनीले आइपीओ जारी गर्छ, त्यो कम्पनी निजी अवस्थाबाट सार्वजनिक कम्पनीमा रूपान्तरण हुन्छ । कम्पनीहरूले विभिन्न उद्देश्य पूरा गर्न आइपीओ जारी गर्ने गर्छन् ।

सबैभन्दा मुख्य कारण पुँजी जुटाउनु हो । व्यवसाय विस्तार गर्न, नयाँ उद्योग खोल्न, प्रविधि विकास गर्न, अनुसन्धान गर्न वा ऋण तिर्न कम्पनीलाई ठूलो रकम आवश्यक पर्छ । बैंकबाट ऋण लिँदा ब्याज तिर्नुपर्ने हुन्छ, तर आइपीओ मार्फत जुटाएको पुँजीमा ब्याज तिर्नु पर्दैन । यसले कम्पनीको आर्थिक अवस्था बलियो बनाउँछ ।

साथै, पुराना लगानीकर्तालाई निकास दिने उद्देश्य पनि आइपीओ जारी गरिन्छ । सुरुमा कम्पनीमा लगानी गरेका प्रवर्द्धक, साझेदार वा भेञ्चर क्यापिटलहरूले आइपीओपछि आफ्नो सेयर बेचेर नाफा लिन सक्छन् । आइपीओले भविष्यमा थप पुँजी जुटाउन सजिलो बनाउँछ । एक पटक सूचीकृत भएपछि कम्पनीले भविष्यमा एफपीओ, राइट सेयर वा बोनस सेयर जारी गरेर पुनः पुँजी उठाउन सक्छ ।

तर, घाटामा गएका र व्यापार विस्तार गर्न नसक्ने कम्पनीलाई सेयर जारी गर्न दिनाले अहिले लगानीकर्ता मारमा परेका छन् । त्यसैले नियामकले सेयर जारि गर्दा कम्पनीको वित्तिय अवस्था र पक्षेपणलाई अध्यन गर्नु पर्ने हुन्छ ।

Leave Your Comment

Related News